कात्तिक मेलाको तयारी पूरा

काठमाण्डु टुडे २०७० कार्तिक २७ गते २:३१ मा प्रकाशित

सुन्दरीजल, २७ कात्तिक–प्रत्येक वर्ष हरिबोधिनी एकादशीदेखि कात्तिक शुक्ल पूर्णिमासम्म मेला लाग्ने बूढानीलकण्ठमा मेलाको सम्पूर्ण तयारी पूरा भएको बूढानीलकण्ठ मठले जानकारी दिएको छ । यो मेला कात्तिक २७ गते हरिबोधिनी एकादशीदेखि मङ्सिर २ गते पूर्णिमासम्म चल्नेछ । उपत्यकाका चार नारायण दर्शन गर्न नसक्नेले बूढानीलकण्ठको मात्र दर्शन गर्दा पनि चारै नारायण दर्शन गरेबराबरको धार्मिक लाभ प्राप्त हुने धार्मिक विश्वास छ ।

पाँच दिनको विशेष मेला सञ्चालनका लागि मूल तयारी समिति गठन गरी सम्पूर्ण तयारी पूरा भएको मठका कोषाध्यक्ष रामबहादुर केसीले जानकारी दिए । जसअनुसार १११ सदस्यीय मूल समिति गठन गरी कार्य सञ्चालनका लागि १७ सदस्यीय समिति र ११ उपसमितिसमेत गठन गरिएको छ । मूल समिति बूढानीलकण्ठ क्षेत्र विकास समितिका अध्यक्ष लक्ष्मण भण्डारीको संयोजकत्वमा गठन गरिएको छ ।

एघारवटा उपसमितिमा मठका मठाधीश निगमानन्दको संयोजकत्वमा पूजा व्यवस्थापन समिति, कोषाध्यक्ष रामबहादुर केसीको संयोजकत्वमा अनुगमन तथा मूल्याङ्कन र सल्लाहकार समिति, सानुभाइ कार्कीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, श्याम मल्ल ठकुरीको संयोजकत्वमा स्वयम्सेवक समिति एवम् महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठका प्रहरी निरीक्षक तर्कराज पाण्डेको संयोजकत्वमा शान्तिसुरक्षा समिति गठन गरिएको छ ।

त्यसैगरी जयराम खड्काको संयोजकत्वमा प्रचारप्रसार समिति, दुर्गाबहादुर कार्कीको संयोजकत्वमा यातायात व्यवस्थापन समिति, राजकुमार नगरकोटीको संयोजकत्वमा सरसफाइ तथा बजार व्यवस्थापन समिति र गुप्तबहादुर थापाको संयोजकत्वमा स्वास्थ्य सेवा समिति गठन गरिएको छ ।

सबै समितिको सक्रियतामा मेलाका सम्पूर्ण तयारी पूरा गरिएको सदस्यसचिव लोचन नेपालले जानकारी दिए । कात्तिक महिनामा हरि र हरले युक्त बूढानीलकण्ठको दर्शन गरेमा पाप मोचन भई पुण्य कमाइने विश्वास रहिआएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us