
काठमाण्डु, २७ कात्तिक–नेकपा–माओवादी नेतृत्वको मोर्चाले आह्वान गरेको यातायात बन्दको विरोधमा नेपाल उद्योग वाणिज्य महासंघको अगुवाइमा बुधबार काठमाण्डुमा शान्ति र्याली निकालिएको छ । बन्द फिर्ता लिन पटक–पटक आग्रह गरे पनि मोर्चाले अस्वीकार गरेपछि महासंघले सवारी साधन सहित र्याली आयोजना गरेको हो ।
र्याली शुरु हुनु अघि खुलामन्चमा जम्मा भएकाहरुले ‘नेपाल सँधैकालागि खुल्ला राखौं’ नारा लगाएका थिए । नेपालको राष्ट्रिय झण्डा लिएर कार, मोटरसाइकलसहित र्याली निकालिएको छ । बन्दविरुद्धको उद्योगी व्यवसायी, पेशा व्यवसायी, विद्यार्थी, मजदुर, सर्वसाधारणलगायत सहभागी छन् । महासंघका बरिष्ठ उपाध्यक्ष भाष्कर राज राजकर्णिकारका अनुसार र्यालीले पाटनको मंगलबजार, सातदोबाटो, कलंकी, सीतापाइला, बालाजु, तिनकुने, भक्तपुर लगायतका बिभिन्न स्थान परिक्रमा गर्ने छ ।
र्याली शुरु हुनुअघि खुलामन्चमा भएको कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले बन्द सँधैकालागि बन्द हुनुपर्ने बताए । आफूहरुको शान्ति र्यालीले सरकार र बन्द आह्वानकर्तालाई वार्तामा बसेर सहमति खोज्न दवाव मिल्ने उनले अपेक्षा समेत गरे ।
सरकासँग मंगलबार भएको छलफलमा उद्योगी व्यवसायी र यातायात व्यवसायीले बन्द अवज्ञा गर्ने निर्णय गरेका थिए । सोही निर्णय अनुसार काठमाण्डु उपत्यका सहित देशभर सवारीका साधन निर्वाध सन्चालन भैरहेका छन् ।