‘प्रचण्डलाई असफल गराउन खोज्ने पुडका सावित’

काठमाण्डु टुडे २०७० कार्तिक २७ गते १:२१ मा प्रकाशित

महेन्द्रनगर, २७ कात्तिक–एकीकृत नेकपा माओवादीको मेची महाकाली राष्ट्रिय जागरण अभियान सकिएको छ । कात्तिक २० गते विहान ९ बजे झापाको काँकडभिट्टाबाट सुरु भएको अभियानसातौं दिन कञ्चनपूरको महेन्द्रनगरमा पुगेर समापन भएको हो । अभियानको क्रममा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई मधेशका १ सय २२ निर्वाचन क्षेत्र समेटिनेगरी ७० वटा सभालाई सम्बोधन गरेका छन् । अभियानको क्रममा करिब ७ लाख जनताबीच आफ्ना एजेण्डा प्रस्तुत गरिएको एमाओवादीले जनाएको छ । Prachand
अभियानको दोश्रो दिन कात्तिक २१ गते प्रचण्डले १७ वटा सभालाई सम्बोधन गरेका थिए । काँकडभिट्टादेखि महेन्द्रनगरसम्म पुग्दा १ हप्ते लम्बे अभियानले २ हजार किलोमिटरको यात्रा पूरा गरेको छ ।
महेन्द्रनगरमा भएको समापन सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यो अभियान नेपाली राजनीतिको इतिहाँसमा सवैभन्दा ठूलो शान्तिपूर्ण राजनीतिक लम्बे अभियान भएको बताए ।
मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीले एमालेसँग मिलेर विभिन्न ठाँउमा गरेको बन्दका बाबजुद मेचीमहाकाली राष्ट्रिय जागरण अभियान शान्दार ढंगले सफल भएको प्रचण्डले बताए  । “बन्दको आयोजना गरी मलाई असफल पार्न खोज्नेहरु पुड्का देखिए, नेपाली जनता फेरी महान सावित भए” प्रचण्डले थपे “आगामी चुनावमा जनताले हामीलाई बहुमत दिनेछन् हामी जनतालाई स्थिर सरकार र जनमुखी संविधान दिनेछौं ।”
अन्य नेताहरु आ–आफ्नै निर्वाचन क्षेत्रको प्रचार प्रसारमा सीमित रहेको भन्दै प्रचण्डले आफु मात्र २ सय ४० क्षेत्रकै उम्मेदवारको रुपमा देश दौडाहामा लागेको बताए । “मेची महाकाली अभियान राष्ट्रिय एकताको अभियान हो, यसले एकीकृत नेकपा माओवादी मात्र देशको चिन्ता गर्ने पार्टी हो भन्ने कुरा पुष्टि भएको छ” प्रचण्डको भनाइ थियो ।
प्रचण्डले संविधानसभा, गणतन्त्र, धर्म निरपेक्षता, समावेशी, समानुपातिकता सवै माओवादीका एजेण्डा भएकोले आगामी चुनावमा  दुइतिहाइ बहुमत दिन आग्रह गरे । “जसको नीति उसकै नेतृत्व भए मात्र संविधान र स्थिर सरकार बन्छ, अघिल्लो चुनावमा त्यसो नभएको कारण देशले दुख पाएको हो ” प्रचण्डको तर्क थियो “ अब फेरी पनि कसैलाई बहुमत नदिने गल्ती गर्नुहुँदैन” ।
प्रत्यक्ष तर्फका चार उम्मेदवार प्रवेश
महेन्द्रनगरको सभामा विभिन्न पार्टीका ४ जना प्रत्येक्षतर्फका उम्मेदवारहरु एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका छन । कञ्चनपूर क्षेत्र नं ३ का नेपाल जनमुक्ति पार्टीका प्रत्येक्ष उम्मेदवार मान बहादुर घर्ती, सोही क्षेत्रका समाजवादी जनता पार्टीका प्रत्यक्ष उम्मेदवार धिरेन्द्र महरा, समाजवादी पार्टीका प्रत्यक्ष उम्मेदवार महेश धामी र मधेशी जनअधिकार फोरम नेपालका प्रत्येक्ष उम्मेदवार गणेश जैरुले अध्यक्ष प्रचण्डको हातबाट टीका लगाएर एमाओवादीमा प्रवेश गरेका हुन । यसअघि रौतहटमा विभिन्न पार्टीका २ जना प्रत्यक्षतर्फका उम्मेद्वारहरु एकीकृत माओवादीमा प्रवेश गरेका थिए । संघीय समाजवादी पार्टीबाट रौतहट क्षेत्र नं ४ का प्रत्येक्ष उम्मेदवार देवलाल राम, चुरेभावर राष्ट्रिय पाटीका केन्द्रीय सदस्य चुनलाल श्रेष्ठ एमाओवादीमा प्रवेश गरेका थिए । मेचीमहाकाली राष्ट्रिय जागरण अभियानको क्रममा समानुपातिक तर्फका झण्डै आधा दर्जन उम्मेदवार सहित देशैभर काँग्रेस एमाले लगायत विभिन्न दलहरुबाट ५ हजारभन्दा बढी कार्यकर्ता एमाओवादीमा प्रवेश गरेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us