बन्दमा क्षति भएका गाडीलाई दिइने राहत रकम २५ हजारबाट ५० हजार पुग्यो

काठमाण्डु टुडे २०७० कार्तिक २६ गते १३:१३ मा प्रकाशित

singh durbarकाठमाण्डु, २६ कात्तिक– सरकारले बन्दका समयमा सवारी साधन तोडफोड वा आगजनी भएमा दिने घोषणा गरेको राहत रकम बढाएर दोब्बर बनाएको छ । सो राहत रकम २५ हजारबाट बढाएर ५० हजार पुर्‍याएको हो ।

गृहमन्त्रीको संयोजकत्वमा गठित मन्त्रिपरिषद्, आवश्यक सेवा संचालन तथा व्यवस्थापन समितिको छैठौं बैठकले बन्दमा क्षति पुगेका सवारी साधनलाई दोब्बर राहत दिने लगायतका चार बुँदे निर्णय गरेको हो । बैठकले भन्सार नाकावाट पेट्रोलियम पदार्थको ढुवानीलाई गन्तव्यसम्म पुर्‍याउने भरपर्दो व्यवस्था गर्ने र मानवता विरुद्धका घटनामा कानून वमोजिम कारवाही अगाडि वढाउनु सम्बन्धित निकायलाई लेखी पठाउने लगायतका निर्णय गरेको समितिका सचिव कृष्णहरि वास्कोटाले जानकारी दिए ।

बैठकले गरेका निर्णयहरुः
१.    यस समितिले यस पूर्व गरेका निर्णयहरुको कार्यान्वयन गर्न र विशेषगरी सरकारी सवारी साधनहरु निरन्तर संचालनमा ल्याउन पुनः मन्त्रालयमा लेखी पठाउने ।

२.    २०७०।७।२५ देखि २०७०।८।५ गते सम्मको बन्दको अवधिमा सवारी साधनमा हुने क्षति वापत उपलब्ध गराइने क्षतिपूर्ति तथा घाइतेहरुको औषधी उपचारसम्बन्धी कार्यविधि, २०७० मा तत्कालका लागि प्रदान गर्ने भनिएको रु. २५,०००।– लाई सम्वन्धित व्यवसायीहरुको आग्रह समेतलाई विचार गरी सो रकमको सिमालाई रु. ५०,०००।– सम्म पुर्‍याउने ।

३.    पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई सहज र प्रभावकारी तुल्याउन भन्सारनाकामा आइ पुग्ने ढुवानीका साधनलाई गन्तव्यसम्म पुर्‍याउन वाणिज्य तथा आपूर्ति मन्त्रालयका निमित्त सचिव दिपक सुवेदी र नेपाल प्रहरीका सहायक प्रहरी नायव महानिरीक्षक यादव अधिकारीले आवश्यक समन्वय गरी पेट्रोलियम पदार्थको ढुवानी व्यवस्थालाई सूचारु तुल्याउने ।

४.    ताप्लेजुङ्गमा प्रयोग भएको हतियार तथा विष्फोटक पदार्थ, दोलखामा पार्किङ्ग गरिराखेको गाडीको सहचालक भित्र सुतिरहेको वसहरुमा आगो लगाउने, चितवनको जुगेडीमा यात्रु वसिरहेको वसमा र ललितपुरको कुमारीपाटीमा यात्रु चढिरहेको माइक्रोवसमा पेट्रोल बम, विभिन्न स्थानमा सर्वसाधारणको जीउधन क्षति गर्ने गरी राखिएका शंकास्पद वस्तु लगायतका मुलुकका विभिन्न भागमा भएका आगजनी तथा तोडफोड प्रति नेपाल सरकारको गंभिर ध्यानाकर्षण भएको छ । शान्तिपूर्ण आन्दोलनको नाममा यस प्रकारका गंभिर मानवीय क्षति गर्ने गरी लक्षित घटना प्रति नेपाल सरकार भत्र्सना गर्दछ । साथै, मावनता विरुद्धका यस प्रकारका घटना उपर कानून वमोजिम कारवाही गर्नका लागि अनुसन्धान जारी राख्न गृह मन्त्रालयमा लेखी पठाउने ।

महासंघले सवारीसाधनसहित रयाली गर्ने
नेपाल उद्योग वाणिज्य महासंघले ३३ दलीय मोर्चाले घोषणा गरेको यातायात बन्दको विरोधमा बुधबार काठमाण्डुमा सवारी साधनसहितको रयाली आयोजना गर्ने भएको छ ।
महासंघले पत्रकार सम्मेलन गरी कुनै पनि दलले गर्ने हडताल र चक्काजामको आफूहरुले विरोध गर्दै आएको भन्दै उद्योग व्यावसायीले निर्वाधरुपमा व्यावसाय खोल्न पाउनुपर्ने र सर्वसाधारणको जनजीवनलाई सामान्य बनाउन आवश्यक पर्ने भएकाले यस्तो कार्यक्रम राखिएको जनाएको छ ।
महासंघका अध्यक्ष सुरज वैद्यले मुलुकको राजनीतिक अस्थिरताका नाममा पटकपटक हुने बन्द र हडतालले आर्थिक क्षेत्र तहसनहस हुने भएकाले बुधवारदेखि यातायत बन्दका कार्यक्रम फिर्ता लिन सम्बन्धित मोर्चालाई आग्रह गरे ।
उपत्यकाका विभिन्न नाकाबाट भेला भई सवारी साधनसहित बन्दको विरोधमा रयाली प्रदर्शन गरी बिहान १० बजे खुल्लामञ्चमा भेला हुन महासंघले सबैमा अपिल पनि गरेको छ ।
देशमा रोजगारीका सम्भावना भए पनि राजनीतिक अस्थिरताका कारण बन्दजस्ता कार्यक्रम हुने गर्नाले गम्भीर असर परेको, भएका उद्योग कलकारखाना पनि राम्रोसँग चल्न नपाएको अध्यक्ष वैद्यले बताए ।
महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले रयालीमा सहभागी हुन सबै पेसा र क्षेत्रका नागरिकलाई आग्रह गरे ।
महासंघको प्रतिनिधिमण्डलले ३३ दलीय मोर्चाको नेतृत्वकर्ता नेकपा–माओवादीका नेता देव गुरुङलाई भेटी चक्काजामका कार्यक्रम फिर्ता लिन आग्रह पनि गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us