दशैं तिहारको सुपथ पसल चुनावसम्म

काठमाण्डु टुडे २०७० कार्तिक २६ गते १२:११ मा प्रकाशित

nepal-khadya-sasthanकाठमाण्डु, २६ कात्तिक– दशैं, तिहार र छठ पर्वको उपलक्ष्यमा सञ्चालन गरिएको एकीकृत सहुलियत दरको सुपथ मूल्य पसल निर्वाचनलाई लक्षित गरी मङ्सिर १ गतेसम्म सञ्चालन गरिने भएको छ ।

उपत्यकाका रामशाहपथ, सूर्यविनायक, कोटेश्वर, कालीमाटी, टेकु, बनेपा, बल्खुलगायतका आठवटा स्थानमा सञ्चालन गरिएको सो पसलहरु निर्वाचनको अवधिसम्म सञ्चालन गरिने भएको छ । सो अवधिमा नुन, चिनी, तेल, चामललगायत खाद्य सामग्रीको कृत्रिम अभाव हुन नदिने उद्देश्यले १ गतेसम्म सञ्चालन गरिने वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरिने एकीकृत सहुलियत दरको सुपथ मूल्य पसल रामशाहपथका स्टल प्रमुख सृजन रेग्मीले जानकारी दिए ।

निर्वाचनका लागि भन्दै सरकारले २ देखि ५ गतेसम्म सार्वजनिक बिदा दिएका कारण १ गतेपछि सञ्चालन गर्ने वा नगर्नेबारे वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरिने रेग्मीले बताउनुभयो । असोज १ देखि कात्तिक २९ गते सम्मका लागि मात्र भनेर सञ्चालन गरिएको सहुलियत पसल उपभोक्ताको मागलाई ध्यानमा राखेर समय थप गरिएको हो ।

नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, दुग्ध विकास संस्थानलगायतका संस्था सहभागी सहुलियत पसलमा हरेक सामान हेरीकन रु तीनदेखि रु १५० सम्म छुट दिने गरिएको रेग्मीले बताए । रामशाहपथमा मात्र अहिलेसम्म रु एक करोड ५० लाखको बिक्री गरिएको र चिनी, नुुन, तेल, चामल लगायतका खाद्य वस्तुहरुको सबैभन्दा बढी बिक्री भएको रेग्मीको भनाइ छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us