स्पष्टिकरण दिने अन्तिम मौका

काठमाण्डु टुडे २०७० कार्तिक २६ गते ११:५८ मा प्रकाशित

election commition of nepal

काठमाण्डु, २७ कात्तिक–निर्वाचन आयोगले समानुपातिकतर्फका बन्दसूचीमा उम्मेदवारी दर्ता गराएकामध्ये तीन उम्मेदवारहरुलाई उनीहरुविरुद्ध परेका उजुरीमा स्पष्टिकरण पेश गर्न बुधबार अन्तिम मौका दिएको छ ।

आयोगले समानुपातिक प्रणालीको बन्दसूचीमा उम्मेदवारी दर्ता गराएका मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का उम्मेदवार कामेश्वरप्रसाद साह, नेपाली काँग्रेसका सूर्यदेवदास उराव र नेकपा एमालेका सागरदेवी चौधरीको योग्यताका विषयमा अलग–अलग उजुरी परेकाले बुधबारसम्म आफ्नो भनाइ पेस गर्न सूचित गरेको हो ।

फोरम लोकतान्त्रिकका उम्मेदवार साह सडक विभागमा इन्जिनियर पदमा कार्यरत रहेकोमा राजीनामा नदिइ उम्मेदवारी दर्ता गराएको भन्ने उजुरी परेको छ । काँग्रेसका उम्मेदवार उरावले भगवानराम प्रावि मधुवन–४ सुनसरीमा शिक्षक पदमा कार्यरत रहे पनि राजीनामा नदिई उम्मेदवारी दर्ता गराएको भन्ने उजुरी छ । यस्तै एमालेका उम्मेदवार चौधरीले सरस्वती बाल विकास केन्द्रमा कार्यरत रही सरकारी सुविधा लिइरहेको भनी उजुरी परेपछि आयोगले आफ्नो भनाइ पेस गर्न अन्तिम मौका दिएको हो ।

बुधबारसम्म उजुरीविरुद्ध उम्मेदवारहरुले चित्तबुझ्दो जवाफ नदिएमा उम्मेदवारी खारेज हुने आयोगले बताएको छ ।

मतदाता परिचयपत्र वितरण सुरु

आयोगले फोटोसहितको मतदाता परिचयपत्र जिल्ला–जिल्लामा पुगिसकेको जानकारी गराउँदै मंगलबारदेखि वितरण सुरु गरेको बताएको छ ।

प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले ताप्लेजुङमा मंगलबार मतदाता परिचयपत्र बाँड्न सुरु गरेका हुन् । यही कात्तिक २९ तथा मंसिर १ र २ गते जिल्ला निर्वाचन कार्यालयहरुले मतदाता परिचयपत्र वितरण गर्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us