
दोलखा, २६ कात्तिक– आफ्नै पार्टीको उम्मेदवारविरुद्ध नेपाली काँग्रेस, दोलखाले पत्रकार सम्मेलन गरेको छ । पार्टीले नातावाद र पैसाको आधारमा समानुपातिक उम्मेदवार बनाएको भन्दै आफ्नै पार्टीका समानुपातिक उम्मेदवारहरुको पोष्टर टाँसविरुद्ध दोलखा काँग्रेसले पत्रकार सम्मेलन गरेको हो ।
दोलाखा काँग्रेसले सिफारिस गरेकोलाई वेवास्ता गर्दै अन्य स्थानबाट सिफारिस भएका समानुपातिक उम्मेदवारको पोष्टर दोलखामा टाँस्न थालेपछि दोलखा काँग्रेसले आफ्नै पार्टीविरुद्ध यस्तो कदम चालेको नेवि संघ दोलखाका अध्यक्ष राकेश श्रेष्ठले बताए ।
पत्रकार सम्मेलनमा सिफारिस गरिएका राजभण्डारीले पार्टीले पैसा खाएर र आफ्नै भाइ–भतिजालाई उम्मेदवार बनाएको आरोप लगाए । उनले भने, ‘काँग्रेस पार्टीले पार्टीकै मान्छेलाई ठूलो घात गरेको छ । जुन असह्य छ ।’
दोलखाबाट काँग्रेसका पूर्व जिल्ला सभापति माधवमणि राजभण्डारीलाई पहिलो स्थानमा राखी समानुपातिथक उम्मेदवारका लागि सिफारिस गरिएको थियो । श्रेष्ठले भने, ‘जिल्ला पार्टीले सिफारिस गरेको सदर नगरी अन्यत्रबाट उम्मेदवार बनाउनुले दोलखा काँग्रेसको अपमान भएको छ ।’