बुधबारदेखि सवारी साधन चलाउने घोषणा

काठमाण्डु टुडे २०७० कार्तिक २६ गते ११:०५ मा प्रकाशित

banda-abagyaकाठमाण्डु, २६ कात्तिक- यातायात, पर्यटक, उद्योग ब्यवसायलगायतका नीजि क्षेत्रका प्रतिनिधिहरुले बुधवारबाट नेकपा–माओवादीसहितको ३३ दलीय मोर्चाले आह्वान गरेको बन्दको अवज्ञा गर्दै सवारी साधन सुचारु रुपमा चलाउने घोषणा गरेका छन् ।

‘सवारी साधन सुचारु हुन्छ’

काठमाण्डुमा आयोजित साक्षात्कारमा नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष सरोज सिटौलाले बुधवारदेखि यातायात सुचारु हुने घोषणा गर्दै विगतका बन्दमा भएको क्षतिपूर्ति समयमै नपाउँदा यातायात व्यवसायीहरु अन्यौलमा रहेकोले सवारी साधन चल्न नसकेको बताए ।

उनले यातायात ब्यवसायीहरु सधै बन्दको विरोधी भए पनि सुरक्षाको अभावको कारण साधन चलाउन नसकिएको उल्लेख गर्दै सरकारसँग आज क्षतीपूर्ति, उपचार र विमा लगायतको विषयमा सहमति बनेकोले अब सुचारु गर्ने र त्यसको लागि वातावरण निर्माण गर्न आह्वन गरे ।

बन्द सदाका लागि बन्द

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका सचिव शम्भुप्रसाद नेपालले सरकारले सुरक्षा, क्षतिपूर्ति र उपचारको विषयमा प्रतिवद्धता व्यक्त गरेकोले बुधवारबाट सवारी साधन सुचारु हुने बताए । उनले ऐतिहासिक संविधानसभाको निर्वाचनको मुखमा बन्द गर्नु जनताप्रतिको घात भएको आरोप लगाउँदै सरकारलाई यातायात सुचारु गर्न सुरक्षाको पूर्ण प्रत्याभूति गर्न आग्रह गरे ।

नेपालले आफूहरु बन्दको विरोधी भएको र देशको विकासको लागि बन्द सदाको लागि बन्द गर्नु पर्ने भन्दै जनताको नाममा राजनीति गर्ने दलहरुले जनताको पीडा भुलेर आफ्नो स्वार्थमा बन्द गर्न नहुने सुझाव दिए ।

माओवादी कलंकीत बन्ने

अखिल नेपाल यातायात मजदुर संघका महासचिव राजेन्द्र शर्माले राजनीतिक समस्या राजनीतिक रुपमा समाधान गर्न तर्फ लाग्नुको साटो जनतालाई दुख दिने गरी बन्द गर्नु निन्दनीय भएको भन्दै बन्द फिर्ता लिएर संविधानसभाको निर्वाचनलाई सफल बनाउन आग्रह गरे ।

उनले सबैलाई यातायात सुचारु गर्न आह्वान गर्नै बन्दकै कारण निर्वाचन बिथोलिए माओवादी कलंकीत बन्ने चेतावनी दिए ।

राष्ट्रको लागि घात

नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष प्रदिपजंग पाण्डेले कुनै पनि बन्द राष्ट्रको लागि घात भएको भन्दै अब बन्द नगर्ने प्रतिवद्धता व्यक्त गर्ने दललाई मात्रै मत दिन सबैसँग आग्रह गरे ।

उनले ७० प्रतिसत उद्योग सञ्चालित अवस्थामा रहे पनि यातायात सुचारु नहुँदा उत्पादन बाहिर पु¥याउन नसकिने र मजदुरहरुसमेत आउन नसक्ने भएकोले समस्यामा रहेको सुनाए ।

बन्दले मुलुकको समृद्धि रोकिने भएकोले यसको सबैले विरोध गर्नु पर्ने भन्दै राज्यले सुरक्षाको प्रत्याभुति दिएर सवारी साधन सुचारु गर्नु पर्नेमा पाण्डेले जोड दिए । मानिसमा डर र त्रास रहेकोले सबै खाले बन्द सफल हुने गरेको सुनाउँदै डर र त्रास छाडे कसैले पनि नेपालमा बन्द गर्न नसक्ने दावी गरे ।

३० अरब घाटा

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष  सुरेश बस्नेतले यातायात बन्दले गर्दा उत्पादित सामग्रीहरु बजारमा जान नसक्दा उद्योगीहरु समस्यामा रहेको भन्दै सरकारले शान्ति सुरक्षाको प्रत्याभूति गरेर बन्द खुलाउनु पर्ने बताए ।

उनले १० दिनको बन्दले राष्ट्रलाई ३० अरब घाटा हुने जानकारी दिँदै यस्तै अवस्था कायम रहने हो भने नेपालका उद्योगी ब्यवसायीहरु चल्न नसक्ने ठोकुवा गरे ।

छवि नकारात्मक

टुरिष्ट गाईड एसोसिएसन अफ नेपालका  अध्यक्ष हरेराम बरालले अहिले पर्यटन आउने पिक सिजन भएकोले पर्यटन व्यवसायीहरुले यस्ता बन्दको अवज्ञा गर्नु पर्ने भन्दै अन्यथा नेपालको पर्यटन क्षेत्र ध्वस्त हुने चेतावनी दिए ।

अहिलेको बन्दका कारण नेपाल आउन बुक गरेका धेरै पर्यटकहरुले बुकिङ रद्द गरेको जानकारी दिदै यसका कारण ५० प्रतिसत टुर गाईड र ५० प्रतिसत होटलहरु खाली भएको उनले बताए । अब बन्ने संविधानमै नेपाल बन्द गर्न नपाईने विषय उल्लेख हुनु पर्नेमा जोड दिदै  पर्यटकमाथि आक्रमण भए त्यसले नेपालकै छविमा नकारात्मक असर पर्ने तर्फ सचेत गराए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us