
काठमाण्डु, २६ कात्तिक–नेकपा एमालेले आगामी संविधानसभा चुनावमा ६३ क्षेत्रबाट हार्ने खुलासा गरेको छ । सबैजसो दलले चुनावमा आफ्नो जित सुनिश्चित भएको बताइरहेकोबेला एमालेले भने आफू हार्ने बताएको हो ।
विभिन्न अनलाइनमा आबद्ध सञ्चारकर्मीसँग मंगलबार विहान काठमाण्डुमा छलफल गर्दै एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीका सचिवालय सदस्य तथा प्रचार संयोजक प्रदीप नेपालले ६३ निर्वाचन क्षेत्रमा एमाले कमजोर रहेको जानकारी दिए । ‘६३ ठाउँमा हार्ने देखिएको छ, ८० स्थानमा चाहिँ तिव्र प्रतिस्पर्धा हुन्छ,’ नेता नेपालले भने, ‘९७ स्थानमा भने एमालेको जित सुनिश्चित भैसकेको छ ।’
संविधानसभा निर्वाचनको अन्तिम समयमा केही दलले मतदाता किन्न सक्ने खतरा देखिएको भन्दै उनले त्यसतर्फ सचेत हुन निर्वाचन आयोग र सञ्चारमाध्यमलाई आग्रहसमेत गरेका छन् । तर, आफ्नो पार्टी मत किनेर जित्नुपर्छ भन्ने विश्वासमा नरहेको नेपालले जिकीर गरे । नेता नेपालले भने, ‘दक्षिण एसियाको सबभन्दा ठूलो पार्टी भएकाले निर्वाचनको अन्तिम समयमा एमाओवादीले प्रतिव्यक्ति एक लाख रुपैयाँसम्म दिएर पनि भोट किन्न सक्नेछ, यो निष्पक्ष निर्वाचनको सूचक होइन, यसबारे हामीले निर्वाचन आयोगलाई पनि भनिसकेका छौं, उसले कति गर्न सक्छ हेरौं ।’
नेता नेपालले एमालेलाई हराउन एमाओवादी र नेपाली काँग्रेस मिल्ने स्थिति आउन सक्ने भएकाले यसतर्फ पनि मिडियाले सही सूचना ल्याउनुपर्नेमा जोड दिए ।