मिलिजुली सरकार नबनोस् : प्रचण्ड

काठमाण्डु टुडे २०७० कार्तिक २६ गते ५:५९ मा प्रकाशित

Prachanda-Kailaliकैलाली, २६ कात्तिक–एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतको पाठ सिकेर क्रान्तिकारी र परिवर्तनकारी शक्तिलाई दुई तिहाइ बहुमत दिन अपील गरेका छन् । देशलाई आर्थिक समृद्धिमा लैजान स्थीर सरकार चाहिने र स्थीर सरकारकालागि दुई तिहाई बहुमत चाहिने भन्दै उनले यसपाली मिलिजुली सरकार बन्ने अवस्था आउन नदिन मतदातालाई आग्रह गरे ।

मेची–महाकाली राष्ट्रिय जागरण अभियान अन्तर्गत मंगलबार बिहान कैलालीको लम्कीमा भएको सभालाई सम्वोधन गर्दै प्रचण्डले  परिवर्तनको पक्षधर भएकाले एकीकृत माओवादी मात्रै दुई तिहाई बहुमतको हकदार भएको बताए । पहिचान सहितको संघीयता, गणतन्त्र, समावेशीलगायत सबै एजेण्डा एकीकृत माओवादीकै भएकोले आफ्नो पार्टीले नै बहुमत पाउनु पर्ने उनको दावी थियो ।

पूर्व काँकडभिट्टाबाट सुरु भएको अभियान पश्चिम कैलालीसम्म आइपुग्दा जनलहर देखेर एमाओवादीको बहुमत आउने पक्का भैसकेको उनले जिकीर समेत गरे । स्थीर र एकलौटी सरकार चलाउन पाए ४० वर्षमा नेपाललाई संसारकै धनी देशको सूचीमा पुर्‍याउने अध्यक्ष प्रचण्डले प्रतिबद्धता जनाए ।

एकीकृत माओवादीले पूर्वको काँकडभिट्टाबाट गत बुधबारदेखि सुरु गरेको मेची–महाकाली राष्ट्रिय जनजागरण अभियान मंगलबार कञ्चनपुरको महेन्द्रनगर पुग्नेछ । महेन्द्रनगरबाट धनगढी फर्किएर पत्रकार सम्मेलन गरी बुधबार अभियान समापन गर्ने एमाओवादीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us