चर्चाको शिखरमा रुपन्देही ४, सुकुम्वासी निर्णायक शक्ति

काठमाण्डु टुडे २०७० कार्तिक २६ गते १५:१२ मा प्रकाशित

Baburam-Bishnuकाठमाण्डु, २६ कात्तिक–यतिबेला प्रायः सबै नेता भोट माग्नका लागि हरेक मतदाताको घरघरमा पुगिसकेका छन् । संविधानसभा चुनावका लागि मतदान गर्ने दिन एक हप्ता मात्र बाँकी छँदा चुनावी सारगर्मी ह्वात्तै बढेको छ । अन्यत्र जस्तै रुपन्देही क्षेत्र नम्बर ४ मा पनि चुनावको माहौल तातेको छ । एकीकृत नेकपा माओवादीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेकपा एमालेका सचिव विष्णु पौडेलको उम्मेदवारीका कारण मुलुकको ध्यान अहिले रुपन्देही ४ मा केन्द्रीत भएको छ । अधिकांसले रुचाएका, भिजन भएका र यसअघिको संविधानसभा चुनावमा सर्वाधिक मत लिएका नेता भट्टराईको उम्मेदवारीको अहिले हरेक चोकचोकदेखि चिया पसलहरुमा रुपन्देही ४ कै चुनावी चर्चा र अडकलबाजिहरु हुन थालेको छ ।

रुपन्देही ४ नेकपा एमालेले जितिरहेको क्षेत्र हो । तर परिणाम अहिले विगतको भन्दा फरक आउने धेरैको अनुमान छ । २०६४ को संविधानसभा चुनावमा माओवादीका भक्ति पाण्डे एमालेका विष्णु पौडेलसँग २ हजार ३ सय ५९ मतले पराजित भएका थिए । तर अहिले एमाओवादीले विगतको चुनावमा देशकै सबैभन्दा बढी ४६ हजार २ सय ७२ मत र आफ्ना प्रतिद्वन्द्वीभन्दा ४० हजार १ सय २९  मत ल्याएर विजयी भएका नेता भट्टराईलाई अघि सारेको छ । यो परिणामले पनि देखाउँछ भट्टराई सर्वाधिक रुचाइएका व्यक्ति हुन् ।

त्यसैले त्यहाँ आफूले जित्नेमा माओवादी ढुक्क छ । ‘भट्टराई जी उम्मेदवार राष्ट्रिय र बौद्धिक व्यक्ति भएको, भोलिका सम्भावित प्रधानमन्त्री भएको र हार्न नजानेका व्यक्ति भएकाले पनि चुनाव जित्नेमा हामी ढुक्क छौं,’ चुनाव परिचालन समितिका संयोजक डिलाराम आचार्यले भने ।

रुपन्देही ४ मा नतिजा कस्को पक्षमा जान्छ, त्यो बुटबल वडा नम्बर १३ को सुकुम्वासीहरुको हातमा छ । ६३ हजार ८ सय ४७ जना मतदाता रहेको रुपन्देही ४ मा झण्डै साढे १० हजार मतदाता सुकुम्वासी बस्तीमा बसोवास गर्छन् । त्यसैले होला एमाओवादीले आफ्नो चुनावी अभियानलाई सुकुम्वासी बस्तीमा केन्द्रीत गरेको छ । प्रधानमन्त्री भएकोबेला जनताको घरमा प्रधानमन्त्री कार्यक्रम अन्तर्गत आफू उम्मेदवार भएको त्यस क्षेत्रमा बास बसेर पनि भट्टराईले छाप छोड्न सफल भएका छन् ।

त्यसो त सुकुम्वासी बस्तीमा अन्य दलको ध्यान नगएको पनि होइन । एमालेका विष्णु पौडेल र नेपाली कांग्रेसका सूर्यप्रसाद प्रधानले पनि हारजितको निर्णायक शक्ति सुकुम्वासी बस्तीलाई नै ठानेका छन् । अघिल्लो पटकको चुनावमा जितेको र संगठन पनि तुलनात्मक रुपमा अरुकोभन्दा बलियो भएको भन्दै चुनाव जित्ने दावी एमालेले गरेको छ । तर, एमाओवादी र एमालेका दुबै उम्मेदवार सशक्त भएकाले त्यसको फाइदा आफूलाई हुनेमा कांग्रेसको आश छ । तर जस्ले जे जस्तो आँकलन गरे पनि निर्णायक शक्ति मानिएका सुकुम्वासीहरु एमाओवादी तिर ढल्केका त छन् तर  ढुक्क भएर लागिसकेका छैनन् । त्यसैले अबको एक हप्तामा सुकुम्वासीहरुको मन कस्ले तान्न सक्छ, नतिजा पनि उसकै पक्षमा जाने निश्चित छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us