जताततै बम आतंक, एमाले नेताको घरमा पनि बम

काठमाण्डु टुडे २०७० कार्तिक २६ गते १:५६ मा प्रकाशित

काठमाण्डु, २६ कात्तिक– काठमाण्डुको सामाखुसी चोकमा मंगलबार विहान सुतली बम फेला परेको छ । सो बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ ।यसैगरी नेकपा एमाले नेता भीम आचार्यको सुनसरीस्थित घरमा फेला परेको बम नेपाली सेनाको टोलीले मंगलबार बिहान निष्कृय पारेको छ ।

धादिङबेसी–टारीबेसी सडकखण्डअन्तर्गत धादिङबेसीको पुछार बजार नजिक राखिएको बम पनि नेपाली सेनाको बम डिस्पोजल टोलीले मंगलबार बिहान निष्कृय पारेको छ । धादिङबेसीबाट आरुघाटतर्फ जान लागेका विदेशी पर्यटकले बिहान मुरलीभञ्ज्याङ गाविस–३ स्थित हनुमान मन्दिर नजिक सडकमा ग्यास सिलिन्डरसहितको शङ्कास्पद वस्तु देखेर प्रहरीलाई खबर गरेपछि बिहान साढे ७ बजे नेपाली सेनाको टोलीले बम निष्कृय बनाएको हो ।

यस्तै बागलुङ बजारको शिवधाराचोकस्थित नेपाली काँग्रेसको पार्टी कार्यालय नजिकै प्लास्टिकले बेरिएको अवस्थामा फेला परेको पाइप बम नेपाली सेनाको सूर्यदल गणको टोलीले निष्कृय पारेको छ ।

महोत्तरीको दुई स्थानमा बम बरामद

महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा आज बिहान तीन वटा बम फेला परेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारीअनुसार जिल्लाको प्रमुख व्यापारिक केन्द्र बर्दिवासको वडा नं ८ भोला बसन्त चोकमा रहेको बजार शोरुम अगाडि एउटा बम फेला परेको छ भन्ने अर्को जिल्लाको सहसौला गाविस–७ र ८ को मध्य भागमा पर्ने जलेश्वर–बर्दिवास सडकखण्डकै बीचमा फेला परेको छ ।

बर्दिवासमा फेला परेको बम बर्दिवासस्थित नेपाली सेनाको टोलीले डिस्पोज गर्दा सो बम सामान्य प्रकृतिको सुतली बम रहेको देखिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक अशोक झाले बताए ।

त्यस्तै जिल्लाको सहसौलामा फेला परेको दुईवटा बम जिल्लाको क्षेत्र नं ५ को खोपी बेस क्याम्पका नेपाली सेनाको टोलीले डिस्पोज गर्न खोज्दा दुईवटै बमजस्तो रहेको रातो कपडाले बेरिएको पोकाभित्र ढुङ्गाको स–साना कण र गेरु फेला परेको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी निरीक्षक नेत्रबहादुर बरुवालले जानकारी दिए ।

नेकपा–माओवादीले आसन्न संविधानसभाको निर्वाचन बहिष्कार गर्दै गरेको यातायात बन्दको क्रममा जिल्लावासीलाई तर्साउनका लागि शङ्कास्पद वस्तुहरु राखेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले बताए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us