उपत्यकाको जनजीवन सामान्य बन्दै,सात बन्दकर्ता पक्राउ

काठमाण्डु टुडे २०७० कार्तिक २६ गते ८:३५ मा प्रकाशित

aaglagi-busकाठमाण्डु, २६ कात्तिक –नेकपा–माओवादीसहितको  मोर्चाले आह्वान गरेको आमहडतालको दोस्रो दिन मंगलवार काठमाण्डु उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ ।
निजी तथा सार्वजनिक सवारी साधन बाक्लो सङ्ख्यामा चलेका तथा शैक्षिक संस्था, उद्योग, कलकारखाना र सडक चोकका पसल  खुलेका छन् । साझा यातायातलगायत सार्वजनिक साधन चलिरहेका छन् । बन्दकर्ताले उपत्यकाका केही स्थानमा बिहान केही तोडफोडको प्रयास गरेको भए पनि अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बन्दकर्ताले बिहान काठमाण्डु र ललितपुरका आधा दर्जन स्थानमा विभिन्न सवारीसाधनमाथि तोडफोड गरेका छन् । उनीहरुले काठमाण्डुको प्रदर्शनीमार्ग, पुरानो बानेश्वर, मध्यबानेश्वर र नयाँ बानेश्वरमा ट्याक्सी र ललितपुरको बालकुमारीमा माइक्रोबसमाथि आक्रमण गरेका थिए ।
प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक गणेश केसीका अनुसार अहिले उपत्यकाको जनजीवन सामान्य रहेको छ, सवारी साधन निर्बाधरुपमा चलेका छन् र सवारी साधनको सुरक्षाको पूर्ण व्यवस्था मिलाइएको छ । प्रवक्ता केसीले जबर्जस्ती बन्द गराउन खोज्ने सात जनालाई देशका विभिन्न स्थानबाट पक्राउ गरिएको बताए । यसरी पक्राउ पर्नेमा काठमाण्डुमा तीन पोखराबाट दुई र सुर्खेतबाट दुई जना छन् । प्रहरीले सोमबार ८३ बन्दकर्तालाई पक्राउ गरेको थियो । पक्राउ गरिएकालाई दोषी देखिए कडा कारबाही गर्ने र बाँकीलाई स्थानीय प्रहरीको रोहबरमा छोडिने केसीले बताए ।
यसैबीच बन्द विफल पारी जनजीवन सामान्य पार्न सरकारले उपत्यकामा विशेष सुरक्षा सतर्कता अपनाएको छ । उपत्यकाका सडकमा सुरक्षा निकायका तीनवटै अङ्गलाई परिचालन गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सडक र संवेदनशील स्थानमा गस्ती गरिरहेका तथा प्रहरीले उपत्यकाका सडकमा बिहानैदेखि पिनेट, मोबाइल र स्कर्टिङ गरी सवारी साधन सञ्चालनको वातावरण बनाइरहेको छ ।
उपत्यकामा मंगलवार आपूर्ति व्यवस्था सहज र नियमित रहेको सरकारले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले सरकारले सोमबार सरोकार भएकाहरुसँग छलफल गरी आपूर्ति व्यवस्थालाई नियमित पारिएको बताए । उनका अनुसार सोमबार कालिमाटी तरकारी बजारमा ५६० मेट्रिकटन तरकारी आएको थियो जुन सामान्य दिनको सरह नै हो ।
माइक्रोमा पेट्रोल बम प्रहार, एक बालक गम्भीर घाइते

ललितपुरको कुमारीपाटीमा गुडिरहेको माइक्रोबसमा नेकपा–माओवादी कार्यकर्ताले मंगलबार विहान पेट्रोल बम प्रहार गर्दा एक बालक गम्भीर घाइते भएका छन् । बन्दकर्ताले प्रहार गरेको पेट्रोल बमले बा १ ज ६२८८ नम्बरको माइक्रो बसमा यात्रा गरिरहेका एक बालक घाइते भएका हुन् । उनको आँखा र अनुहारमा चोट लागेको छ । ति बालकलाई उपचारकालागि पाटन अस्पताल पुर्याइएको छ ।प्रहरीका अनुसार बिहान ललितपुरको बालकुमारीमा लगनखेल–रत्नपार्क चल्ने बा१ज ६२८८ नं को माइक्रोबसमा पेट्रोलको बोतलले आक्रमण गर्दा त्यसमा सवार चारवर्षे बालक अभिषेक लामा घाइते भएका छन् । गल्लीबाट लुकेर प्लास्टिकको बोतलमा तेल हालेर माइक्रोबसलाई प्रहार गर्दा माइक्रोको सिसा फुटेर केही व्यक्ति घाइते भएको प्रहरीको भनाइ छ ।

माइक्रो बसको भने शिशा फुटेको छ । फुटेको शिशाले गाडीभित्र अभिभावकसँग यात्रा गरिरहेका बालकलाई लागेको थियो । ललितपुरको कुमारीपाटी तनावग्रस्त बनेको छ । सुरक्षाकर्मीले कुमारीपाटीका भित्री गल्लीहरुमा आक्रमणकारीको खोजतलाश जारी राखेका छन् ।

चितवनमा यात्रुसहितको बसमा आगजनी

बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले चितवनमा यात्रुसहितको बसमा आगजनी गरेका छन् । सर्लाहीबाट काठमाडौंकालागि छुटेको ना ४ ख ४७३४ नम्बरको बसमा मध्यराती साढे १२ बजे आगजनी भएको हो ।

नारायणगढ–मुग्लीन सडकखण्ड अन्तरगत जुगेडीमा बस रोकेर पेट्रोल छर्किदै आगो लगाइएको थियो । बसमा आगो लागेपछि यात्रुहरुले हामफालेर ज्यान जोगाएका थिए । सो बसमा झण्डै चालीस जना यात्रु रहेको बताइएको छ । उनीहरु सबै सकुशल छन् ।

बस आगजनी भएको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले दमकलको सहायतामा आगो निभाएको थियो ।

काठमाण्डुमा ट्याक्सी तोडफोड

यसैबीच काठमाण्डुको नयाँबानेश्वरस्थित रत्नराज्य स्कूल अगाडी बा १ ज १९६२ नम्बरको ट्याक्सी बन्दकर्ताले मंगलबार विहान तोडफोड गरेका छन् ।
नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आह्वान गरेको यातायात बन्दले जनजीवन प्रभावित भएको छ । सरकारले सुरक्षा दिने भन्दै सबै गाडि चलाउन आग्रह गरे पनि राजधानीमा कम मात्र सवारी साधन चल्दा यात्रुहरु समस्यामा परेका छन् । मोटरसाइकल, टेम्पो र केही माइक्रोबस फाट्ट फुट्ट चलेका छन् ।
नेकपा–माओवादी नेतृत्वको मोर्चाले मंगलबारदेखि यातायात बन्द आह्वान गरेको छ । मोर्चाले सोमबार एक दिन आमहड्ताल आह्वान गरेको थियो ।यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us