काँग्रेस कार्यकर्ताबाट एमाओवादी कार्यकर्तामाथि आक्रमण

काठमाण्डु टुडे २०७० कार्तिक २६ गते ४:५६ मा प्रकाशित

Ghaiteविदुर, २६ कात्तिक– नुवाकोटको सामरीमा काँग्रेस कार्यकर्ताको आक्रमणमा एकीकृत माओवादीका तीन कार्यकर्ता गम्भीर घाइते भएका छन् ।

आक्रमणमा आफ्ना सामरी गाउँ कमिटी अध्यक्ष ६२ वर्षीय रामेश्वर खड्का तथा उनका छोराहरु रघुनाथ र मच्छिन्द्र खड्का घाइते भएको माओवादीले जनाएको छ । तीनै जनाको टाउको र गर्धनमा गहिरो चोट लागेको छ ।

जिल्ला अस्पताल त्रिशूलीमा उपचार हुन नसकेपछि घाइते सबैलाई काठमाण्डु ल्याइएको छ ।  उनीहरुको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये मच्छिन्द्रको अवस्था चिन्ताजनक रहेको चिकित्सकले बताएका छन् ।

Nuwakot-aakrman-1एकीकृत माओवादी नुवाकोटका नेता हिरानाथ खतिवडाले चुनावी सभाको तयारी गरिरहेका बेला काँग्रेस क्षेत्र नम्बर–३ का उम्मेदवार बहादुरसिंह लामाका कार्यकर्ताले मंगलबार बिहान खुँडा, खुकुरी र भालाले आक्रमण गरेको बताए ।

आक्रमणमा काँग्रेस क्षेत्रीय सभापति जगत तामाङ, आशा तामाङ र हरि तामाङलगायतको समूह संलग्न रहेको आरोप माओवादीले लगाएको छ । माओवादीले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ ।

नुवाकोट–३ मा एकीकृत माओवादीबाट पूर्वमहासचिव पोष्टबहादुर बोगटी र काँग्रसबाट निर्माण व्यवसायी बहादुरसिंह तामाङ उम्मेदवार छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us