
काठमाण्डु, २५ कात्तिक–आवश्यक सेवा सञ्चालन तथा व्यवस्थापन समितिले सुरक्षा व्यवस्थालाई मजबुत बनाउने र सवारी साधनमा भएको क्षतिवापतको रकम तत्काल उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार बसेको समितिको बैठकले संविधानसभा निर्वाचनलाई सफल बनाउन सञ्चालन गर्नुपर्ने सबै उपायहरु अवलम्बन गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले जानकारी दिए ।
समितिले राष्ट्रसेवक कर्मचारी निरन्तररुपमा आफ्नो कार्यालयमा उपस्थित हुने र सबै सरकारी साधन यथावत सञ्चालनमा ल्याउने, नागरिकको दैनिक जनजीवन सामान्य तुल्याई राख्न सुरक्षा निकायको प्रभावकारितालाई अझ मजबुत पार्ने, सुरक्षा निकायलाई चौविसै घन्टा उच्च सतर्कतामा राख्ने र नागरिकले सम्पर्क गर्ने हटलाइनलाई चुस्त र दुरुस्त रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको सचिव बाँस्कोटाले बताए ।
सार्वजनिक यातायातलाई नियमितरुपमा सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल यातायात व्यवसायी महासंघ, नेपाल ट्रक व्यवसायी महासंघ, गृह मन्त्रालय, अर्थ मन्त्रालय, बीमा समितिलगायत सरोकारवाला निकायका उच्च पदाधिकारीको बैठकपछि निर्णय गरिने सचिव बाँस्कोटाले जानकारी दिए ।