काँग्रेसले १५ हजार मानिस मारेको प्रचण्डको आरोप

काठमाण्डु टुडे २०७० कार्तिक २५ गते १३:५१ मा प्रकाशित

Prachandaटिकापुर, २५ कात्तिक–एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा आफूहरुले प्रत्यक्षतर्फ दुई तिहाई सिट ल्याउने दावी गरेका छन् । मेची–महाकाली राष्ट्रिय जागरण अभियान अन्तरगत कैलालीको टीकापुरमा सोमबार भएको सभालाई सम्वोधन गर्दै प्रचण्डले प्रत्यक्षतर्फका २ सय ४० मध्ये १ सय ६० सिटमा एकीकृत माओवादी अग्रस्थानमा रहेको दावी गरेका हुन् ।

मेचीदेखि महाकालीसम्मको चुनावी माहोल एकीकृत माओवादीको पक्षमा ढल्केकोले आफूहरुले प्रत्येक्षतर्फ दुई तिहाईको हिसाव गरेको प्रचण्डको भनाइ थियो । ‘अन्य दलका नेताहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा ज्यान फालेर लागेका छन् तर म मेचीदेखि महाकाली र तराईदेखि हिमाल, पहाड सबैतिर घुमेर राष्ट्रिय एकताको अभियानमा जुटेको छु,’ प्रचण्डले भने, ‘मैले सिङ्गो नेपालको चुनावी चित्र खिचेर यस्तो निचोड निकालेको हुँ ।’

१५ हजार नेपालीको ज्यान जानुमा काँग्रेस दोषी

अर्को एक प्रसंगमा अध्यक्ष प्रचण्डले २०५७ सालमा आफूहरुले उठाएको  संविधानसभाको माग काँग्रेसले अस्वीकार गर्दा १५ हजारको ज्यान गएको आरोप लगाए । काँग्रेसको संविधानसभा विरोधी हठको कारण देशमा युद्ध लम्बिएको उनको भनाइ थियो । ‘संविधानसभा माग पूरा हुने हो भने हामी शान्ति प्रक्रियामा आउछौं भन्दा तत्कालीन काँग्रेस नेतृत्वको सरकारले मान्दै मानेन,’ प्रचण्डले भने, ‘त्यसपछि चर्किएको युद्धमा दुबैतर्फ गरी थप १५ हजार नेपालीको ज्यान गयो ।’

संविधानसभा माग गर्दा पटक–पटक संकटकाल लगाएर रगतको खोलो बगाउने काँग्रेस र उसलाई सघाउने एमाले कुनै पनि हालतमा गणतन्त्र र संविधानसभाका वास्तविक समर्थक नभएको प्रचण्डको भनाइ थियो । उनीहरु हाल लतारिएर भएपनि माओवादीको एजेण्डामा आएकोमा प्रचण्डले धन्यवाद पनि दिए ।

‘वैद्य माओवादीले जनतालाई धोका दिए’

२०५७ सालमा सम्पन्न पार्टीको दोश्रो राष्ट्रिय सम्मेलनमा हाल वैद्य माओवादीका सचिव रहेका नेत्र विक्रम चन्द लगायत नेताहरुको पूर्ण सहमति रहेको भन्दै प्रचण्डले अहिले संविधानसभा चुनाव बहिष्कार गरेर उनीहरुले जनतालाई धोका दिएको आरोप लगाए । आफैले उठाएका एजेण्डा कार्यान्वयन गर्नुपर्ने बेलामा चुनाव बहिष्कार गर्नु दुःखद भएको प्रचण्डको टिप्पणी थियो । चुनाव बहिष्कार गरेर उनीहरुले सहिद, वेपत्ता र घाइतेको अपमान गरेको उनको भनाइ छ ।

चुनावमा कसैसँग तालमेल नहुने स्पष्ट

यसअघि नेपालगञ्जको सभालाई सम्वोधन गर्दै प्रचण्डले आगामी निर्वाचनमा शीर्ष नेताहरुलाई जिताउन कहीँ पनि तालमेल गर्ने सहमति नभएको स्पष्ट पारेका थिए । नेपालगञ्जको त्रिभुवन चोकमा विहान भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले शीर्ष नेतालाई जिताउने सहमति भएको भन्ने हल्ला निराधार भएको बताए ।

काँग्रेस एमालेले विभिन्न ठाँउमा यस्तो हल्ला फैलाएर चुनाव प्रभावित पार्ने षडयन्त्र गरेको भन्दै प्रचण्डले त्यस्तो भ्रमपूर्ण प्रचारका पछि नलाग्न आग्रह गरे । ‘मैले उच्चस्तरीय राजनीतिक समितिको बैठकमा तालमेलको प्रस्ताव राख्दा अस्वीकार गर्ने तर अहिले मत प्रभावित गर्न भ्रमपूर्ण प्रचारवाजीमा लागेका छन्,’ प्रचण्डले थप प्रष्ट पार्दै भने, ‘अब देशका कुनैपनि क्षेत्रमा कसैसँग तालमेल हुनेछैन ।’

संविधानसभा र परिवर्तनका असली हकदार एमाओवादी

माओवादीले संविधानसभाको कुरा गर्दा झोलाभरी ‘टाउका ल्याऊ बोराभरी पैंसा लैजाऊ’ भन्ने काँग्रेस–एमालेले जनताको संविधान नबनाउने भन्दै प्रचण्डले संविधानसभा र परिवर्तनका असली हकदार एमाओवादीलाई बहुमतले जिताउन अपिल गरे ।

एमाओवादीको मेची महाकाली अभियान अन्तरगत सोमबार छैठौं दिनको कार्यक्रम नेपालगञ्बाट सुरु भई खजुरा, बर्दियाको मैनापोखर, गुलरिया, सानोश्री, राजापुर हुँदै कैलालीको टीकापुर पुगेर विश्राम लिएको छ । टीकापुरसम्म आइपुग्दा एमाओवादीले ५७ वटा चुनावी सभा सम्पन्न गरेको छ ।

आमहड्तालको अवज्ञा

बाँके, बर्दिया र कैलालीमा बन्दको आंशिक प्रभाव देखिएको छ । बजारका पसलहरु धेरैजसो खुलेका थिए भने राजमार्ग क्षेत्रका विद्यालयहरु खुलेका देखिन्थे । लामो दुरीका सार्वजनिक सवारी साधन बन्द रहेको भएपनि नीजि सवारी साधनहरु चलेका देखिन्थे । बन्दको विरोधमा स्थानीय बासिन्दाले चोक चोकमा आक्रोश पोखिरहेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us