
काठमाण्डु, २५ कात्तिक– निर्वाचन आयोगले लोकतन्त्रमा शान्तिपूर्ण तवरबाट असहमति व्यक्त गर्ने अधिकार सबै नेपालीलाई भएपनि अरुको अधिकारको हनन हुने गरी बन्द गरेर अवरोध गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ ।
बन्दको क्रममा सोमबार राजनीतिक दल, उम्मेदवार र मतदाताप्रति लक्ष्य गरी कतिपय ठाउँमा भएका तोडफोड, आगजनी र विस्फोटनका घटनाप्रति आयोगले सोमबार पत्रकार सम्मेलन गरेर बन्दकर्तालाई समेत ध्यानाकर्षण गराएको छ । आयोगले भनेको छ, ‘आफ्नो अधिकारको प्रयोग गर्दा अरुको मानवअधिकारको पनि सम्मान हुनुपर्दछ, संविधानसभा सदस्य निर्वाचनमा सहभागी हुने एक करोड २१ लाख ८६५ मतदाता आफ्नो मताधिकार प्रयोग गर्न आतुर छन् ।’
निर्वाचन आयोग मतदाताको अधिकार रक्षा गर्न र तोकिएकै समयमा स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्पन्न गर्न गराउन दृढ रहेको सो अवसरमा आयोगका प्रवक्ता बीरबहादुर राईले बताए । उनले यो अवस्थामा राजनीतिक दल, उम्मेदवार र मतदाता निर्वाचनलाई सफल तुल्याउन जागरुक भई देशव्यापीरुपमा निर्वाचनको माहोल सिर्जना गरिरहेको उल्लेख गरे ।