
पर्वत, २५ कात्तिक– संविधानसभाको चुनावको मिति नजिकिँदै गर्दा सुरक्षा चुनौती पनि उत्तिकै बढ्न थालेको छ । नेकपा–माओवादी नेतृत्वको मोर्चाको बन्द आह्वानसँगै भएका तोडफोड, आक्रमण र विष्फोटका घटनाहरुले सुरक्षा निकायहरुमा थप चुनौतीका साथै जिम्मेवारी थपिएको छ ।
संविधानसभालाई बिथोल्ने घोषणा आएपछि नेपाली सेना पनि निर्वाचन सुरक्षामा परिचालन गर्ने सरकारी निर्णयसँगै सेना सडकमै आइसकेको छ । निर्वाचन सुरक्षाको जिम्मेवारी निर्वाहसँगै चुनौतीका बीच नेपाली सेनाका प्रधानसेनापतिको पनि दौडधुप बढेको छ । उनी सुरक्षा अवस्था बुझ्नका लागि जिभिन्न जिल्ला पुग्न थालेका छन् ।
यसै क्रममा गौरव शम्शेर जबरा निर्वाचनमा सुरक्षा अवस्थाबारे बुझ्न सोमबार पर्वतको खानीगाउँस्थित निर्वाचन सुरक्षा गुल्मको निरीक्षण गरेका छन् । प्रधानसेनापति जबराले निरीक्षणका क्रममा संविधानसभा निर्वाचनका क्रममा आउने सुरक्षा चुनौतीसँग सम्झौता नगर्न निर्देशन दिएका छन् ।
निष्पक्ष निर्वाचनका लागि आवश्यक सबै सुरक्षा व्यवस्था गर्न निर्देशन दिँदै उनले सेना निर्वाचन सफल बनाउन दृढ भएर अघि बढेको पनि उल्लेख गरे । प्रधानसेनापति जबराले सोमबारै म्याग्दी, पाल्पा र नवलपरासी जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् ।