
काठमाण्डु, २५ कात्तिक– काठमाण्डु–४ का एकीकृत माओवादीका युवा उम्मेदवार नन्दकिशोर पुन, पासाङले नेकपा–माओवादी नेतृत्वको मोर्चाले गरेको आमहड्तालका विरुद्ध मोटरसाइकल र्याली गर्दै बन्दको अवज्ञा गरेका छन् ।
बन्दको अवज्ञा स्वरुप निकालिएको मोटरसाइकल र्याली पश्चात पासाङले भने, ‘अवज्ञा आन्दोलनको सुरुवातसँगै हाम्रो विजय अभियान पनि हो ।’ नेपाल समृद्ध बनाउनका लागि हामीले बन्दको संस्कृतिलाई तोड्नु पर्ने सन्देश नेपाली जनतालाई दिन चाहेको बताउँदै उनले भने, ‘गलत संस्कृतिविरुद्धको विद्रोहको सुरुवात हामीले गरिसक्यौं ।’
एमाओवादीले बन्दको अवज्ञा सुरु गरिसकेको उल्लेख गर्दै बन्दको अवज्ञा काठमाण्डु–४ बाट सुरु भएको नेता पुनको भनाई थियो । ‘एकीकृत नेकपा माओवादीले बन्दविरुद्धको अभियान सुरु गरिसकेको छ’, नेता पुनले भने ‘बन्दको संस्कृतिलाई सधैंका लागि अन्त्य गर्न एमाओवादी अब बन्दविरुद्ध उभिन्छ ।’
र्याली काठमाण्डु–४ को विभिन्न क्षेत्रहरु चावहिल, गौशाला, मैतिदेवी, चारखाल, कमलपोखरी, नक्साल, कालोपुल, चावहिल, आकाशेधारा, राममन्दीर, चुनिखेल, चपली, गोल्फूटार, मण्डिखाटार हुँदै सिफलमा पुगेर सभामा परिणत भएको थियो । सभामा ५० जनाभन्दा बढि युवाहरु नेपाली कांग्रेस परित्याग गरी एमाओवादीमा प्रवेश गरेका थिए ।