
काठमाण्डु, २५ कात्तिक– क्यान्सर रोगका उपचारसम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्न नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर स्थापना गरिएको छ ।
क्यान्सरका रोगी विदेशी भूमिमा गएर उपचार गर्ने विद्यमान अवस्थालाई अन्त्य गर्न नेपालमा नै सुविधा सम्पन्न क्यान्सर अस्पताल स्थापना गरिएको हो ।
क्यान्सर रोग विशेषज्ञ, क्यान्सरबाट बाँच्न सफल व्यक्ति, क्यान्सर पीडित परिवार तथा केही प्रतिष्ठित व्यवसायीको संयुक्त पहलमा सो सेन्टर स्थापना भएको हो । ललितपुर जिल्लाको हरिसिद्धि गाविसमा सो सेन्टर स्थापना गरिएको केही सेन्टरले आगामी माघ महिनादेखि मात्र आफ्नो सेवा सुरु गर्नेछ ।
१५० शैया क्षमतामा सुरु हुने सेन्टरले छिट्टै २५० शैयामा विस्तार गर्ने बताएको छ । सेन्टरले मेडिकल अन्कोलोजी(किमो थेरापी क्यान्सर), सर्जिकल अन्कोलोजी(शल्यक्रिया गर्नुपर्ने क्यान्सर), गाइने अन्कोलोजी (स्त्री क्यान्सर) पेडिएट्रिक अन्कोलोजी(बालबालिका क्यान्सर), युरो अन्कोलोजी(मुत्र क्यान्सर), हेड एन्ड नेक अन्कोलोजी(टाउको तथा घाँटी क्यान्सर), बोन म्यारो ट्रान्सल्पान्ट(रगत क्यान्सर), थोरासिक अन्कोलोजी(छाति क्यान्सर), अर्थाेपेडिक अन्कोलोजी (हड्डी क्यान्सर) जस्ता सेवा प्रदान गर्नेछ ।
रेडिएसन अन्कोलोजी(रेडियो विकीरणबाट गरिने उपचार) र विश्वमा क्यान्सर रोगका लागि उत्कृष्ठ ठानिएको आइएमआरटी÷आइजिआरटी (इमेज गाईडेड रेडिएसन थेरापी) प्रविधि एकवर्षभित्रमा सेन्टरले प्रयोगमा ल्याउने अध्यक्ष डा श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष डा. श्रेष्ठले कोषले खासगरी ग्रामीण विपन्न क्यान्सरका रोगीलाई निःशुल्क उपचारको प्रबन्ध मिलाइएको बताए । अध्यक्ष डा श्रेष्ठले भने, ‘क्यान्सरसम्बन्धी सम्पूर्ण उपचार सेवा अपर्याप्त भएकाले नै हामीले निजी क्षेत्रबाट सस्तो र गुणस्तरीय सेवा दिन सेन्टर स्थापना गरेका हौँ ।’