निर्वाचन सुरक्षाका लागि काठमाण्डुका ८ हजार प्रहरी बाहिर

काठमाण्डु टुडे २०७० कार्तिक २५ गते ८:४९ मा प्रकाशित

काठमाण्डु, २५ कात्तिक– गृह मन्त्रालयले निर्वाचन सुरक्षाका लागि काठमाण्डु उपत्यकाबाट ठूलो संख्यामा प्रहरी बाहिर पठाएको छ ।
policeप्रहरी प्रधान कार्यालयसहित उपत्यकाका तीन वटै परिसर, प्रभाग, वृत्त तथा महत्वपूर्ण सरकारी कार्यालय र संस्थानहरुको सुरक्षार्थ तैनाथ प्रहरीलाई विभिन्न जिल्लामा पठाइएको हो ।

उपत्यकाबाट निर्वाचन सुरक्षा ८ हजार प्रहरी बाहिरी जिल्लामा पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रवक्ता गणेश केसीले प्रहरीलाई शान्ति सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न उपत्यकामा दुई हजारको संख्यामा म्यादी प्रहरी परिचालन गरिएको जानकारी काठमाण्डु टुडेलाई दिए ।

केसीले नेपाली सेनासमेत परिचालन भएकाले ८ हजार प्रहरी बाहिर पठाउँदा उपत्यकाको सुरक्षा व्यवस्थामा कुनै असर नपर्ने दाबी गरे । ‘निर्वाचन सुरक्षाका लागि उपत्यकाबाट ८ हजार प्रहरी बाहिर पठाएका छौं’, केसीले भने, उनीहरुको ठाउँमा तत्कालका लागि म्यादी प्रहरी खटाइएको छ ।’

प्रहरीले सुरक्षाका दृष्टिले कम खतरा मानिने केही सरकारी कार्यालयमा तैनाथ युनिट नै खाली गरेर निर्वाचन सुरक्षामा परिचालन गरेको छ । गृह मन्त्रालयले एकीकृत सुरक्षा ऐनअन्तर्गत निर्वाचनमा देशभर ४९ हजार प्रहरी परिचालन गरेको छ ।

कार्यवाहक प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्याल नेतृत्वमा गठित कार्यदलले देशभर प्रहरी परिचालन गर्नेछ । यस्तै सशस्त्र प्रहरी र नेपाली सेनाले पनि निर्वाचन सुरक्षार्थ ठूलै संख्यामा आफ्नो जनशक्ति राजधानीबाहिर पठाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us