प्लास्टिक उत्पादनको अन्तर्राष्ट्रिय प्रदर्शनी

काठमाण्डु टुडे २०७० कार्तिक २५ गते ५:०४ मा प्रकाशित

काठमाण्डु २५ कात्तिक–आगामी मंसिर २७ देखि पुस १ गतेसम्म भारतको आर्थिक राजधानी मुम्बइमा नवौं अन्तर्राष्ट्रिय प्लास्टिक प्रदर्शनी हुने भएको छ ।अखिल भारत प्लास्टिक उत्पादक संघको आयोजनामा हुने प्रदर्शनीमा नेपालका प्लास्टिक उद्यमीलाई आमन्त्रण गर्न आएको सङ्घको उच्चस्तरीय प्रतिनिधिमण्डलले काठमाण्डुमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको हो ।

टोलीले सौर्य ऊर्जा र कृषि प्रविधिमा समेत प्लास्टिक र प्लास्टिकजन्य वस्तुको उपयोग हुन थालेकाले नवीन प्रविधि एवम् व्यवसाय प्रवद्र्धनका उपाय पहिल्याउनका लागि प्रदर्शनीमा भाग लिन नेपाली व्यवसायीलाई अनुरोध गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजङ्ग पाण्डेले नेपालले प्रदर्शनीबाट सिक्ने र अनुभव आदानप्रदान गर्न त्यो जमघट फलदायी हुने बताउँदै प्रदर्शनीमा नेपाली प्लास्टिक व्यवसायी सहभागी हुने बताए ।

सतसट्ठी वर्ष पुरानो सङ्घमा भारतका २५ हजारभन्दा बढी प्लास्टिक उत्पादक कम्पनीले सदस्यता लिइसकेका छन् । हरेक तीन वर्षमा मुम्बइमा आयोजना हुँदै आएको उक्त प्रदर्शनीलाई ‘प्लास्टिभिजन’ नामकरण गरिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us