दर्जनौं बन्दकर्ता पक्राउ

काठमाण्डु टुडे २०७० कार्तिक २५ गते ४:५२ मा प्रकाशित

काठमाण्डु, २५ कात्तिक–नेकपा माओवादीले आह्वान गरेको आमहड्ताल निस्तेज पार्न सरकारले देशभरको सुरक्षा व्यवस्था कडा पारेको छ । काठमाण्डु उपत्यकाका ठाउँ ठाउँमा हतियार सहितका सुरक्षाकर्मी परिचालन भएका छन् । 

जबरजस्ती बन्द गराउँदै हिँड्ने ३२ जनालाई प्रहरीले काठमाण्डु उपत्यकाबाट पक्राउ गरेको छ । काठमाण्डुबाट १८ र ललितपुरबाट १४ जना पक्राउ परेका हुन् । पक्राउ परेकाहरुबाट पेट्रोल बम र खुकुरी बरामद भएको प्रहरीले जनाएको छ । यसअघि बम राख्ने समूहलाई अज्ञात भनिए पनि बन्दकर्ताकै साथबाट पेट्रोल बम भेटिनुले बिभिन्न स्थानमा बम राख्ने काम वैद्य माओवादीबाटै भएको पुष्टि भएको छ ।

दाङमा ६ जना पक्राउ

यसैगरी दाङमा ६ जना नेकपा–माओवादीका कार्यकर्ता पक्राउ परेका छन् । बन्द सफल पार्न भन्दै सडकमा उत्रीएका ६ माओवादी कार्यकर्तालाई प्रहरीले सोमबार विहान नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भुपेन्द्र भुसाल, बामदेव रिजाल, सुरेन्द्र विएम, युके सुनार, विवेक घताने र अशोक श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घोराही–लमही सडकखण्डको कटुवाखोला नजिकै मोटरसाईकल रोकिराखेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी अरुणकुमार शाहले जानकारी दिए ।

बर्दियामा नेकपा–माओवादीको जनस्वयम् सेवकव्युरोका जिल्ला उपाध्यक्ष बबिन रानालाई प्रहरीले पक्राउ गरेको छ ।
जबर्जस्ती बन्द गराउँदै हिँडेका नुवाकोटबाट पाँचजना र खोटाङमा एकजना पक्राउ परेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us