बहिस्कारलाई निस्तेज पार्ने मन्त्रिपरिषद अध्यक्ष,गृहमन्त्री र प्रधानसेनापतिको योजना

काठमाण्डु टुडे २०७० कार्तिक २५ गते ४:१५ मा प्रकाशित

काठमाण्डु–मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी,गृहमन्त्री माधव घिमिरे र प्रधानसेनापति गौरव शम्सेर राणाले नेकपा–माओवादी नेतृत्वमा भइरहेको निर्वाचन बहिस्कार आन्दोलनलाई निस्तेज पार्ने योजना बनाएका छन । मन्त्रिपरिषद अध्यक्ष रेग्मीको कार्यकक्षमा आइतवार भएको छलफलमा प्रधानसेनापति राणाको सुरक्षास्थितिको रिपोर्ट माथि समीक्षा गरी बहिस्कार अभियानलाई निस्तेज पार्ने योजना बनाइएको हो ।
भेटमा प्रधानसेनापति राणाले विभिन्न विकास क्षेत्रको भ्रमणका क्रममा स्थानीय सुरक्षा निकाय प्रमुख, कर्मचारी लगायत सम्बद्ध अन्य निकायहरुसँग भेट गरी सुरक्षा स्थितिको जानकारी लिएको र आम जनसमुदायमा सुरक्षा स्थिति मजवूत र निर्वाचनको वातावरण उत्साहप्रदक रहेको मन्त्रिपरिषद् अध्यक्ष रेग्मीलाई जानकारी गराएका थिए ।
भेटकै क्रममा आगामी मंसिर ४ गतेका लागि निर्धारित मतदान कार्यक्रममा आम मतदाताहरुलाई निर्धक्क भएर सहभागी हुने वातावरण सुनिश्चित गर्न मतदान केन्द्रहरु लगायत सबै स्थानहरुको प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको र स्वतन्त्र, निष्पक्ष र भयरहित रुपमा निर्वाचन सम्पन्न गराउन सुरक्षा प्रबन्ध मजबुत रहेको आफूले पाएको जानकारी पनि रेग्मीलाई राणाले गराएका थिए ।
‘मन्त्रिपरिषद् अध्यक्ष रेग्मी र प्रधानसेनापति राणाबीचको भेटमा आगामी मंसिर ४ गतेको संविधानसभा निर्वाचनलाई लक्षित गरी केही समूहले गर्ने भनेका बहिष्कार र निर्वाचनविरोधी गतिविधि संविधान, प्रचलित कानूनी व्यवस्था र नागरिकको मौलिक हकवरिुद्धको अलोकतान्त्रिक कार्य भएकाले त्यस्ता गतिविधि हुन नदिन सुरक्षा रणनीतिको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा पनि गम्भीर छलफल भयो’ रेग्मीका प्रेस सल्लाहकार बिमल गौतमले भने‘गृहमन्त्री माधवप्रसाद घिमिरे समेत सम्मिलित उक्त भेटमा कुनैपनि प्रकारका निर्वाचनविरोधी गतिविधिलाई पूर्ण रुपमा निस्तेज पार्ने, हिँसा वा आपराधिक गतिविधि गर्न खोज्नेलाई तत्काल कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने र मतदाताको मताधिकार सुनिश्चित गर्दै विश्वसनीय र सुरक्षित वातावरणमा निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल भएको थियो ।’
अध्यक्ष रेग्मीले निर्वाचन सुरक्षा अवस्थाप्रति आश्वश्त हुँदै मंसिर ४ गतेको मतदान कार्यक्रममा निर्धक्क भएर मतदान गर्न आम मतदाताहरुलाई पुनः आव्हान गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us