बन्दकर्ताले विद्यालयमा पनि बम राखे, दर्जनौं स्थानमा शंकास्पद बस्तु

काठमाण्डु टुडे २०७० कार्तिक २५ गते ४:४६ मा प्रकाशित

काठमाण्डु, २५ कात्तिक–वैद्य माओवादी कार्यकर्ताले आमहड्ताल सफल पार्ने नाममा ठाउँ ठाउँमा बम र शंकास्पद बस्तु राखेका छन् । ‘खतरा’ लेखेर राखिएका ति बस्तुबाट सर्वसाधारण आतंकीत भएका छन् । 

धनकुटास्थित एमाओवादीको निर्माणाधिन कार्यालयमा सुतली बम विष्फोट भएको छ । बम विष्फोटबाट सामान्य क्षति भएको प्रहरीले जनाएको छ । एमाओवादी सल्लाहकार तथा अर्थविद डा. डिल्लीराज खनालको कलंकीस्थित घर अगाडि फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।

चितवनमा विहानैदेखि श्रृङ्खलाबद्ध विष्फोट भएको छ । पूर्वी चितवनको रत्ननगर–२ मा सोमबार विहान सिलिण्डर बम पड्कीएको छ । पूर्वपश्चिम राजमार्गबाट करिव ५० मिटर उत्तरतर्फ चौरमा विहान २ बजे सानो सिलिण्डर बम पड्कदा कुनै मानविय तथा भौतिक क्षती नभएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक केदार पन्तले जानकारी दिए ।

यस्तै भण्डारामा पनि बम विष्फोट भएको छ । शिवनगर ९ मा सिमेन्टको बोरामा तार बाहिर निकालेर राखिएको शंकास्पद बस्तु फेला परेको छ । भरतपुर नगरपालिका १३ आनन्द चोकमा पनि शंकास्पद बस्तु भेटिएको छ ।

अरनिको राजमार्ग अन्तरगत काभ्रेको तामाघाट–खावा सहायक मार्गका बिभिन्न स्थानमा शंकास्पद बस्तु भेटिएका छन् । बनेपा पनौती सडकखण्डमा पनि शंकास्पद बस्तु भेटिएपछि नेपाली सेनाको टोली परिचालन गरिएको छ ।

ललितपुरको चिल्ड्रेनपार्क नजिकै शंकास्पद बस्तु फेला परेको छ । काठमाण्डुको धापासी र काठमाण्डु महानगरपालिकाको वडानम्बर २२ कार्यालय अगाडि पनि शंकास्पद बस्तु फेला परेका छन् । काठमाण्डुको शंकर होटल अगाडि पनि शंकास्पद बस्तु भेटिएको छ । नुवाकोटको एकीकृत माओवादी कार्यालयमा पनि बम फेला परेको छ । बाग्लुङ नगरपालिकाको वडानम्बर १, २ र ३ वडा कार्यालयमा पनि शंकास्पद बस्तु फेला परेका छन् ।

विद्यालय र स्वास्थ्य चौकीमा पनि बम

बन्दकर्ताहरुले शान्तिक्षेत्र विद्यालयमा पनि बम राखेर आतंकित पारेका छन् । रसुवाको धाइबुङ २ धरापानीस्थित सुन्धारा उच्चमाविको कम्पाउण्डभित्र बम भेटिएको हो । सो बमलाई नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।

सल्यानको एक विद्यालयमा पनि शंकास्पद बस्तु फेला परेको छ ।

महोत्तरीको लक्ष्मिनीया ७ स्थित उपस्वास्थ्य चौकीमा पनि शंकास्पद बस्तु फेला परेको छ । शंकास्पद बस्तु बम भएको आशंकामा नेपाली सेनाको टोली परिचालन गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us