
नेपालगन्ज, २५ कात्तिक–एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा मुख्य दलका शीर्ष नेताहरुलाई जिताउने सहमति भएको भनेर काँग्रेस–एमालेले गलत हल्ला फैलाएको बताएका छन् । एमाओवादी, नेपाली काँग्रेस, नेकपा एमाले लगायत दलका शीर्ष नेतालाई चुनावमा जिताउने र अरुलाई हराउने सहमति भएको भन्ने कुरा सत्य नभएको उनको भनाइ थियो ।
बाँकेको नेपालगन्जस्थित त्रिभुवन चोकमा सोमबार विहान भएको छैठौं दिनको मेची–काली जागरण सभालाई सम्वोधन गर्दै प्रचण्डले यस्ता गलत हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरे । ‘ठूला दलका ठूला नेतालाई जिताउने र साना नेतालाई हराउने भन्ने कुनै सहमति भएको छैन,’ बाँकेमा काँग्रेस सभापति सुशील कोइरालालाई जिताउन मुख्य दलहरुबीच सहमति भएको भनेर हल्ला फैलाइएको प्रति प्रचण्डले स्पष्ट पार्दै भने, ‘काँग्रेस–एमालेका नेताहरुले चलाएका यी हल्ला सत्य होइनन् ।’
एमाओवादी अध्यक्ष प्रचण्डले यसअघि शीर्ष नेताहरुको बैठकमा चुनावमा तालमेल गरौं भन्दा काँग्रेस–एमालेका शीर्ष नेताहरुले नमानेको खुलासा समेत गरे । ‘तालमेल गरौं भन्दा नमान्ने तर अहिले ठूला पार्टीका ठूला नेतालाई जिताउन भित्री सहमति भैसक्यो भनेर हल्ला फैलाउनु षडयन्त्रपूर्ण छ । यस्तो भ्रममा कोही नपरे हुन्छ । चुनावमा जसले पनि जित्न सक्छ,’ प्रचण्डले भने । आफू हार्ने डरले काँग्रेस–एमालेले गलत हल्ला फैलाएको उनको भनाइ थियो ।
जुन क्षेत्रमा जुन जाति वा समुदायको बाहुल्य छ त्यही अनुसार एमाओवादीले उम्मेदवार छनौट गरेको अध्यक्ष प्रचण्डले स्पष्ट पारे । आगामी चुनावमा क्रान्तिकारी र देश विकास गर्ने योजना भएको एकमात्र पार्टी एकीकृत माओवादीलाई दुई तिहाइ बहुमत दिन उनले मतदातालाई अपील समेत गरे । बाँकेबाट शुरु भएको छैठौं दिनको मेचीकाली जागरण अभियान सोमबार कैलालीको टिकापुरमा पुगेर विश्राम लिने छ ।
काँग्रेस र एमाले असफल
बर्दिया– एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले मेची–महाकाली राष्ट्रिय जागरण अभियानअन्तर्गत बर्दियाको मैनापोखरमा सम्बोधन गर्दै नेपाली काँग्रेस र नेकपा(एमाले)को नीति असफल भएको दाबी गरेका छन् ।
प्रचण्डले एमाओवादीको नीतिले गणतन्त्र स्थापना भएको संविधानसभा बाट संविधान बनाउन लागिपरेको भन्दै काँग्रेस–एमालेको नीति यथास्थितिमा रमाउने भएको आरोप लगाएका हुन् । उनले सभामा आफ्नो पार्टीलाई दुईतिहाई बहुमत दिएर स्थिर सरकार बनाउन सहयोग गर्न आग्रह गरे ।
उनले युवालाई स्वरोजगार बनाउने र सहिद तथा बेपत्ताको सम्मान गर्ने प्रतिबद्धता पनि जनाउँदै प्रचण्डले मुक्त कमैया, सुकुम्बासी, मजदुर र किसानको समस्या समाधान गर्ने वचनबद्धता प्रकट गर्दै एमाओवादीले मात्र जातीय, क्षेत्रीय, लिङ्गीय र वर्गीय अधिकार सुनिश्चित गर्न सक्ने बताए ।