बन्द प्रतिकार गर्दै सर्वसाधारण सडकमा

काठमाण्डु टुडे २०७० कार्तिक २५ गते ३:१३ मा प्रकाशित

काठमाण्डु, २५ कात्तिक– वैद्य माओवादीले आह्वान गरेको बन्दको विरोधमा सर्वसाधारण सडकमा उत्रिएका छन् । दैलेखमा बन्दको प्रतिकार गर्दै बजार पसल सन्चालन भएका छन् ।

उदयपुरको गाइघाटमा स्थानीयवासी बजार खुलाउन र यातायातका साधन सन्चालनको आह्वान गर्दै सडकमा निस्किएका छन् । उदयपुर प्रशासनले पनि निर्भयपूर्वक बजार पसल खोल्न र यातायातका साधन सन्चालन गर्न आग्रह गरेको छ । प्रहरी प्रशासनलाई स्थानीयवासीले साथ दिएका छन् ।

एकीकृत नेकपा माओवादी चितवन निर्वाचन क्षेत्रनम्बर ३ ले बन्दको विरोधस्वरुप मोटरसाईकल र्याली निकालेको एकीकृत नेकपा माओवादी चितवन जिल्ला ईन्चार्ज घनश्याम दाहालले जानकारी दिए । नारायणगढको क्याम्पाचौरबाट सुरु भएको र्याली पोखरा बसपार्क, आँपटारी, बाईपास रोड, केन्द्रीय बस टर्मीनल लगाएतका स्थानहरुको परिक्रमा गर्दै नारायणगढको लायन्सचोक पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई जिल्लास्तरका नेताहरुले सम्बोधन गरेका थिए ।

एकीकृत माओवादी नेतृत्वमा निकालिएको मोटरसाइकल र्यालीमा अरुले पनि साथ दिएका थिए । र्यालीको अगाडि पछाडी दर्जनौं सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

यसैगरी एकीकृत माओवादी काठमाण्डु क्षेत्रनम्बर ४ ले पनि बन्द हड्तालको विरोधमा सोमबार विहान मोटरसाइकल र्याली निकालेको छ । चाबहिलको गोपीकृष्ण हलबाट शुरु भएको र्यालीले निर्वाचन क्षेत्र परिक्रमा गर्ने छ । र्यालीमा सैयौं एमाओवादी कार्यकर्ता र सर्वसाधारण सहभागी छन् । काठमाण्डु क्षेत्रनम्बर ४ मा एमाओवादी उम्मेदवार नन्दकिशोर पुन ‘पासाङ’ छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us