बसमा पेट्रोल बम प्रहार, प्रेसमा पनि आक्रमण

काठमाण्डु टुडे २०७० कार्तिक २५ गते १:२० मा प्रकाशित

काठमाण्डु, २५ कात्तिक– आमहड्ताल आह्वान गरेका वैद्य माओवादी कार्यकर्ताले केही स्थानमा तोडफोड र आगजनी गरेका छन् । बन्दकर्ताले प्रेसलाई समेत आक्रमण गरेका छन् ।

काठमाण्डुको कोटेश्वरमा नागरिक पत्रिका बोकेको गाडिमा तोडफोड भएको छ । माओवादीले प्रेस, एम्बुलेन्स लगायत अत्यावश्यक सवारी साधानमा अवरोध नपुर्याउने बताए पनि पत्रिका लिएर इमाडोलबाट बनेपा जाँदै गरेको गाडिमा आक्रमण भएको हो ।

सोमबार बन्द भए पनि बन्दकर्ताले आइतबार नै रोकिराखेका बसमा आगजनी गरेका छन् । भक्तपुरको ठिमीमा रोकिराखेको ना ३ ख ३७११ नम्बरको बसमा आगजनी भएको छ । यसैगरी दोलखा सदरमुकाम नजिकै रोकिराखेका बा २ ख ३५३४ र बा ३ ख १८०६ नम्बरका बसमा पनि आइतबार आगजनी भएको प्रहरीले जनाएको छ ।

बीपी राजमार्ग अन्तरगत काभ्रेको डाँडागाउँमा गुडिरहेको बसमा बन्दकर्ताले पेट्रोल बम प्रहार गरेका छन् । पेट्रोल बम प्रहारबाट बसको झ्यालका सिसा फुटे पनि यात्रुहरु सकुशल रहेका प्रहरीले जनाएको छ ।

काठमाण्डु महानगरपालिका वडा नं. ३५ सुविधानगरस्थित टिटन कलेजको प्रवेशद्वार अगाडि मूल सडकमा पार्किङ गरिराखिएको बा ४ च २४३२ नं. को स्यान्ट्रो गाडीमा आगजनी भएको छ । गाडीधनी काभ्रेका शम्भु घिमिरेका अनुसार आगलागीबाट गाडीको इन्जिन पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।

त्यसैगरी सुविधानगरकै एपोलो स्कुल नजिक पार्किङ गरिराखिएको बा ३ च ७८२७ र बा ६ च ५५११ नं. को गाडीमा पनि गए राति नै तोडफोड गरी क्षति पुर्याएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।

पोखराको जिरोकिलोमिटर भन्ने स्थानमा एक ट्याक्सी र एक मोटरसाइकल तथा सुनसरीको धरान १३ मा जिल्ला प्रशासन कार्यालय तेह्रथुमको एक गाडिमा बन्दकर्ताले तोडफोड गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us