बन्दकर्तालाई सडकमा आउनै नदिने, देख्नेबित्तिकै समात्ने तयारी

काठमाण्डु टुडे २०७० कार्तिक २५ गते १:०० मा प्रकाशित

policeकाठमाण्डु २५ कात्तिक– नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले निर्वाचन बिथोल्न भन्दै सोमबार आह्वान गरेको आमहडतालमा प्रहरीले बन्दकर्ताहरुलाई सडकमा आउनै नदिने तयारी गरेको छ ।

कडा सुरक्षा रणनीति तयार पार्दै प्रहरीले बन्दकर्तालाई जहाँ भेटे उहीँ समातिहाल्ने तयारी गरेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी गणेश केसीले जानकारी गराएका छन् ।  बन्दकर्तालाई सडकमा आउनै नदिने र हुल–हुज्जत गर्ने अवसर नै नदिने प्रवक्ता केसीले बताए ।

प्रवक्ता केसीले भने, ‘निर्वाचन लक्षित गरी गरिएको बन्दलाई पूरै निस्तेज पार्छौं । त्यही अनुरुप योजना पनि बनेको छ । बन्दकर्तालाई कुनै हुल–हुज्जत गर्ने अवसर हामी दिँदैनौ । सडकमा देख्ने बित्तिकै समातिहाल्छौं ।’

सडकमा आगो देख्न नपाइने

प्रहरीको यो योजनासँगै अन्य बन्द तथा हडतालहरुमा जस्तो सडकमा बन्दकर्ताहरु देखिएका छैनन् । यसपटकको आमहडतालमा सडकमा आगो बालेर धुँवा उडाएको पनि देखिएको छैन । बन्दकर्तालाई सकेसम्म सडकमा उत्रनै नदिने र उत्रिहालेमा समातिहाल्ने र थुनिहाल्ने योजना छ प्रहरीको ।

३३ दलीय मोर्चाले कडा आमहडताल गर्ने भनिए पनि सडकलाई नाराबाजी, तोडफोड र क्षतिविहिन बनाउन ठूलो संख्यामा आइतबार रातिदेखि नै सुरक्षाकर्मी परिचालन गरिएको छ । सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थितिकाबीच बन्द निस्तेज बनाउने योजना सर्कुलर भइसकेको स्रोतले बताएको छ ।

सुरक्षाकर्मीको निगरानी सवारी साधन चलाउने

प्रहरीले सार्वजनिक सवारी साधन चलाउन व्यवसायीलाई आग्रह गर्दै ती सवारी साधनको सुरक्षाको व्यवस्था मिलाइएको बताइएको छ । सार्वजनिक साधनलाई पनि स्कर्टिङ गरी सुरक्षा पहरा दिने व्यवस्था मिलाइएको छ ।

सोमबार काठमाण्डु उपत्यकाभित्र रहेका सबै प्रहरी कार्यालयले बिहान ४ बजेदेखि नै आ–आफ्नो क्षेत्रमा सवारी साधनद्वारा नियमित रुपमा पेट्रोलिङ गरेको छ । त्यस्तै बजार तथा उद्योग, कारखानामा पनि सुरक्षाकर्मीको प्रत्यक्ष निगरानी बढाइएको छ ।

जसरी पनि आमहडताल विफल पारी जनजीवन सामान्य बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, नेपाली सेना पोशाकमा तथा सिभिल पोशाकमा समेत खटिएका छन् ।

तीन सय बन्दकर्ता भित्रिए

सोमबारको आमहडतालका लागि वैद्य नेतृत्वको नेकपा–माओवादीले काठमाण्डु बाहिरबाट तीन सयभन्दा बढी कार्यकर्ता उपत्यकामा ओरालेको छ । प्रहरीले पाएको सूचना अनुसार काठमाण्डु आसपासका जिल्लाबाट बन्दकर्ताका रुपमा उनीहरुलाई आइतबार ल्याइएको हो ।

यात्रु बनेर चढ्ने र आगो लगाउने

प्रहरीले कडा सुरक्षा रणनीति अपनाएर बन्दकर्तालाई समात्ने खबर पाइसकेका नेकपा–माओवादीले सार्वजनिक गाडीमा यात्रु बनेर चढ्ने र मौका मिलेमा आगजनी गरेर भाग्ने योजना बनाएको प्रहरी स्रोतको दाबी छ ।

सार्वजनिक गाडीको स्कर्टिङ छलेर आगो लगाउन सक्ने सम्भावनाका कारण प्रहरीले सिभिल पोशाकमा गाडीभित्र प्रहरी र अन्य सुरक्षाकर्मी खट्ने बताएको छ ।

कडा कारवाही गर्ने चेतावनी दिँदै आएको सरकारका गृहमन्त्री माधवप्रसाद घिमिरेले शनिबार मात्र पत्रकार सम्मेलन गरेर बन्द गर्नेलाई तत्काल समात्ने र कानुन बमोजिम कारबाही चलाउने बताएका थिए । उनले सुरक्षा व्यवस्था चुस्त पार्न र बन्दलाई निस्तेज पार्न सुरक्षा निकायलाई ठाडो निर्देशन समेत दिएका थिए ।

नेकपा–माओवादी नेतृत्वले मंसिर ४ मा हुने संविधानसभा निर्वाचन बिथोल्न सोमबार आमहडताल र मंसिर ४ गतेसम्मै चौबिसै घण्टा यातायात बन्द गर्ने घोषणा आइतबार गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us