डिआइजी थापाको रिटमा सरकारलाई आदेश

काठमाण्डु टुडे २०७० कार्तिक २४ गते ९:३० मा प्रकाशित

supreme-court-nepalकाठमाण्डु, २४ कात्तिक– सर्वोच्च अदालतले प्रहरी नायब महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्नु पर्नाको कारण स्पष्ट पार्न सरकारलाई आदेश दिएको छ ।

विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका अर्याललाई १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन सर्वोच्चले आदेश जारी गरेको हो । अन्तरिम आदेशको मागसहित रिट दायर भए पनि सर्वोच्चले अन्तिरिम आदेश भने जारी गर्न नपर्ने जनाएको छ ।

आफूभन्दा कनिष्ठ प्रहरी नायब महानिरीक्षक अर्याललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको भन्दै प्रहरी नायब महानिरीक्षक पार्वती थापाले गत बिहीबार दायर गरेको रिट निवेदनमा न्यायाधीश तर्कराज भट्टको एकल इजलासले सरकालाई आदेश दिएको हो ।

ज्येष्ठता, शैक्षिक योग्यता, कार्यसम्पादनको अङ्क विपक्षी अर्यालभन्दा बढी हुँदाहुँदै पनि महिला भएकै कारण आफूलाई बढुवाबाट वञ्चित गरिनु कानुन विपरीत भएको सो रिटमा जिकिर गरिएको छ । सरकारले गत कात्तिक १४ गते प्रहरी नायब महानिरीक्षक अर्याललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us