छठमा २० लाखको केरा बिक्री

काठमाण्डु टुडे २०७० कार्तिक २४ गते १०:१७ मा प्रकाशित

chhath-finalमहोत्तरी, २४ कात्तिक– महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा यो वर्ष छठ पर्वको अवसरमा रु २० लाख बढीको केराको बिक्री भएको छ । केरा व्यापारीले छठका अवसरमा जलेश्वरमा बुद्धिजीवी चोकका केरा व्यापारी सत्यनारायण पुर्वेले आफू एक्लैले आठ ट्रक केरा बेचेको बताए ।

त्यस्तै अर्का दुर्गा चोकका व्यापारी ओमप्रकाश साहले आफ्नो गोदामबाट पाँच ट्रक केरा बिक्री भएको जानकारी दिए । शङ्कर चोकका केरा व्यापारी विनय चौधरीले दुई ट्रक, महेन्द्र साहले दुई ट्रक तथा त्यस्ता दर्जनाैँ व्यापारीले दुईदेखि पाँच ट्रकसम्म केरा बिक्री गरेको बताएका छन् ।

करिब सय ठूलासाना, थोक तथा खुद्रा केरा व्यापारीले जलेश्वरमा रु २० लाख बढी केराको कारोबार भएको उद्योग वाणिज्य सङ्घ जलेश्वरका महासचिव कृपाशङ्कर साहले बताए । जलेश्वरमा विगत एक सातादेखि करिब २०० ट्रक केरा भारतको हाजिपुरबाट बिक्रीका लागि मूल भन्सार भिट्ठामोडबाट आयात भएको थियो । जलेश्वरमा एउटा केराको घरीको रु ३५० देखि एक हजारसम्म बिक्री हुने गरेको छ ।

त्यस्तै जिल्लाको मटिहानी, बर्दिवास, गौशाला, बलबा, सरपल्लो, औरही, बथनाहा, मनरा, सम्सीलगायतका सहायक बजारमा पनि लाखाैँकाे केराको बिक्री भएको स्थानीय व्यापारीले बताएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us