
काठमाडौ, २४ कात्तिक– उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम शान्ति तथा बन्द विरुद्धको समन्वय समितिका संयोजक भाष्कर राज राजकर्णिकारले आफूहरुले जोसुकैले बन्द गरे पनि त्यसको अवज्ञा गर्ने चेतावनी दिएका छन् ।
उनले सोमबार हुने बन्दको विरोधमा आफूहरु प्रतिकात्मक रुपमा सडकमा उत्रने चेतावनी दिदै बन्द निरन्तर कायम रहे शान्ति सभा गर्ने, मैनबत्ति जुलुस निकाल्ने, विभिन्न पक्षसँग बन्द संस्कारको विरुद्ध अन्र्तक्रिया गर्ने बताए । काठमाण्डुमा आयोजित साक्षात्कारमा राजकर्णिकारले भने, ‘बन्द जोसुकैले गरोस सैद्धान्तिक र व्यवहारिक रुपमै हामी त्यसको विरोधी हौं । एक दिनको बन्दले २ अर्ब रुपैयाँ नोक्सानी गर्छ । बन्दले दुरगामी रुपमै मुलुकको अर्थतन्त्रलाई ध्वस्त पार्छ । हामी यसको अवज्ञा गर्छौं ।’
त्यस्तै नागरिक अगुवा डा सुन्दरमणी दिक्षितले जनताको संविधान लेख्ने अभियानको बेलामा बन्द गर्नु बुद्धिहिन काम र जनतमाथिको अत्याचार भएको भन्दै जनताको संविधान लेख्ने निर्वाचन बहिस्कार गर्ने अधिकार कसैलाई पनि नभएको जिकिर गरे । उनले भने, ‘जुन कुराको लागि यत्रो मान्छे मारे र मरे त्यसकै विरोधमा आज बन्द गर्दैछन । त्यो जनतामाथिको अत्याचार हो ।’
साक्षात्कारमा मानवअधिकारकर्मी सुदिप पाठकले सरकारले बहिस्कारबादीहरुलाई धरपकड गर्ने योजना बनाएर मुलुकलाई पुन द्वन्द्वमा धकेल्ने षडयन्त्र गरेको आरोप लगाउँदै सरकारलाई द्वन्द छाडेर चुनावलाइ केन्द्रमा राखेर बार्ताको आह्वान गर्न आग्रह गरे ।
उनले माओवादीका नेता बादल र नेत्रविक्रम चन्दसहित पूर्व लडाकु नेताहरु भूमिगत रहेको र उनीहरुसँग अझै हतियार रहेकोले पनि सरकारले द्वन्द्वको आगोमा धरपकड गरेर घ्यू हाल्न नहुने तर्क गरे ।
नेपाल प्राध्यापक संघका अध्यक्ष प्राध्यापक रामेश्वर उपाध्यायले बन्द गरेर जनताको अधिकार हनन गर्ने अधिकार कसैलाई नभएको भन्दै तत्काल बन्द फिर्ता लिन आग्रह गरे । जनता निर्वाचन मार्फत आफ्नो मत र विचार प्रकट गर्न तयार रहेको अवस्थामा निर्वाचनलाई कसैले रोक्न नहुने तर्क गर्दै उनले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र नेपालीलाई सार्वभौम बनाउन संविधानसभाको निर्वाचनलाई सफल बनाउनै पर्ने बताए ।