गणेशमानको ९८ औं जन्मजयन्ती आज

काठमाण्डु टुडे २०७० कार्तिक २४ गते ५:११ मा प्रकाशित

Ganeshman-Singhकाठमाण्डु, २४ कात्तिक–२०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं नेपाली काँग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको ९८ औं जन्मजयन्ती मनाइदैछ । जन्मजयन्तीको अवसरमा काठमाण्डुको शोभाभगवतीस्थित सिंहको सालिकमा विहान माल्र्यापण गरिएको छ ।

गणेशमान सिंहले १९९७ मा शोभाभगवतीबाट राजनीति सुरु गरी नेपाल प्रजापरिषद् मार्फत राणा विरोधी आन्दोलन शुरु गरेका थिए । पञ्चायत विरोधी आन्दोलनमा सक्रिय रही उनले २०४६ सालको पहिलो जनआन्दोलनको नेतृत्व गरेका थिए । त्यसैले उनलाई ‘सर्बोच्च कमाण्डर’को उपमा दिइएको थियो । त्यागी नेताको रुपमा चिनिने नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष सिंह २००७ सालपछि बनेको सरकारमा उद्योग मन्त्रीसमेत भएका थिए ।

विक्रम संवत् १९७२ साल कात्तिक २४ गते काठमाण्डुको यट्खामा जन्मिएका सिंहको २०५४ असोज २ गते निधन भएको थियो ।

गणेशमानका छोरा प्रकाशमान सिंह नेपाली काँग्रेसको महामन्त्री छन् । आइतबार विहान शोभाभगवतीमा भएको कार्यक्रममा सिंहले मतदान गरेर जनप्रतिनिधि चयन गर्न पाउने सार्वभौम अधिकारलाई कसैले पनि अवरोध गर्न नहुने धारणा राखे । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीलगायतका नेता–कार्यकर्ताले गणेशमान सिंह तथा महिला नेत्री मङ्गलादेवी सिंहको शालिकमा फूलमाला चढाएर श्रद्धा व्यक्त गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us