‘रुख चढाएर फेंद ढाल्ने धोकेबाज एमाले’

काठमाण्डु टुडे २०७० कार्तिक २४ गते ६:३० मा प्रकाशित

Prachandaकपिलवस्तु, २४ कात्तिक–एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय राजनीतिमा स्पष्ट अडान नभएको नेकपा एमालेले नेपाल र नेपालीलाई धोका दिएको आरोप लगाएका छन् । एमालेसँग मिलेर बनेको आफ्नो नेतृत्वको सरकारले इतिहासकै राम्रा कार्यक्रम ल्याए पनि एमालेकै कारण सफल हुन नसकेको उनले स्मरण गरे ।

‘हाम्रो पालामा इतिहासको सबैभन्दा राम्रो कार्यक्रम ल्याएका थियौं तर एमालेजस्तो वेइमानको सहारामा सरकार चलाएको कारण लागु गर्न सकिएन,’ मेची–महाकाली राष्ट्रिय जागरण अभियानको क्रममा आइतबार कपिलबस्तुको चारनम्बर जितपुरमा भएको सभामा प्रचण्डले भने, ‘रुखमा चढाएर फेद ढाल्ने धोकेबाज एमाले हो ।’ उनले तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटवाललाई कारवाही गर्दा पनि एमालेले आफ्नो नेतृत्वको सरकारलाई धोका दिएको दावी गरे ।

विगतमा काँग्रेस र एमालेले राम्रो काम गर्छन् की भनेर जनतालाई सरकारमा पुर्याए पनि ति दलबाट जनताले केही नपाएको चर्चा गर्दै उनले अब आफ्नो पार्टीले बहुमत पाए स्थीर सरकार बनाएर देशमा आर्थिक समृद्धि ल्याउने बताए । देशलाई निकास दिन प्रधानन्यायाधीश नेतृत्वको सरकार बनाउन आफ्नो पार्टीले सरकार छाडेको र दोस्रो संविधानसभा निर्वाचन सम्भव भएको प्रचण्डले दोहोर्याए । संघीयता, गणतन्त्र, समावेशी, समानुपातिक जस्ता एजेण्डा आफ्नो पार्टीकै भएको उनको भनाइ छ । हालसम्मको उपलब्धी एकीकृत माओवादीकै एजेण्डा अनुसार सम्भव भएकोले आगामी चुनावमा आफ्नो पार्टीलाई बहुमत दिन उनले सबै मतदातालाई अपील गरे ।

‘झोलाभरी टाउका ल्याउ बोराभरी पैसा लैजाउ भन्ने काँग्रेसीहरुले ल्याएको परिवर्तन होइन यो,’ जनयुद्धकालमा आफ्ना नेताहरुको टाउकोको मोल तोकिएको स्मरण गर्दै प्रचण्डले भने, ‘एमालेले ल्याएको परिवर्तन पनि होइन, यो परीवर्तन एमाओवादीको नेतृत्वमा जनताले ल्याएको हो । यो परिवर्तन ल्याउने शक्तिलाई बहुमत नदिँदासम्म शान्ति, स्थिरता र विकास कहिल्यै हुँदैन ।’

इतिहासमा क्रान्ति र परिवर्तनको नेतृत्व गर्नेले नै राष्ट्रको जिम्मा लिने राजनीतिको नियम भएको उनको भनाइ छ । ‘१५ सालमा राणा शासन विरोधी आन्दोलन गर्ने काँग्रेस थियो, ४६ सालमा पनि उसको नेतृत्व थियो, त्यसैले जनताले उसलाई बहुमत दिए, तर काँग्रेसले बहुमत बचाउन सकेन । काँग्रेसको थोत्रो रुख ढल्यो,’ प्रचण्डले भने, ‘एमालेलाई पनि केही समय जनताले हेर्न खोजेको हो, मदन भण्डारी जस्तो जल्दोबल्दो नेतालाई पनि एमालेले बचाउन सकेन, त्यहीबाट उसको पतन भयो ।’

कार्यक्रमलाई सम्वोधन गर्दै एमाओवादीका अर्का नेता बाबुराम भट्टराईले कम्तिमा पाँच बर्षसम्म स्थीर सरकार चलाउन पाए देशमा विकास र समृद्धि ल्याउने दावी गरे । देश विकास र समृद्धिको लागि आफ्नो पार्टीले ल्याएको ४० वर्षे मार्गचित्रले नेपाललाई संसारकै धनी देश बनाउने उनको दावी थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us