३३ दलीय मोर्चाको बैठक बस्दै

काठमाण्डु टुडे २०७० कार्तिक २४ गते ३:५५ मा प्रकाशित

काठमाण्डु, २४ कात्तिक– संविधानसभा निर्वाचनको विरोधमा उत्रिएको नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाको बैठक आइतबार बस्दै छ । चुनाव विरुद्धको आन्दोलनको स्वरुपबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

काठमाण्डुको बुद्धनगरस्थित माओवादी केन्द्रीय कार्यालयमा दिउँसो बस्ने बैठकले पूर्वघोषित आमहड्तालको कार्यक्रममा पुनर्विचार गर्ने नेताहरुले बताएका छन् । मोर्चाको बैठक बस्नु अघि कार्यदलको बैठकले छलफलका विषय तय गर्नेछ ।

कात्तिक २५ गतेदेखि मंसिर पाँच गतेसम्म आमहड्ताल आह्वान गरेपछि राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा आलोचना खेपेको मोर्चाले आन्दोलनको स्वरुप फेरबदल गर्न लागेको बताइएको छ । मोर्चामा आबद्ध दलका नेताहरुले आमहड्तालको कार्यक्रम छोटिन सक्ने सार्बजनिक अभिव्यक्ति दिदै आएका छन् ।

सरकार र उच्चस्तरीय राजनीतिक समितिले आमहड्ताल फिर्ता लिन आह्वान गरेका छन् भने उद्योगी व्यवसायीहरुले बन्दको प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us