मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

काठमाण्डु टुडे २०७० कार्तिक २४ गते ३:३६ मा प्रकाशित

काठमाण्डु, २४ कात्तिक–नवलपरासी र महोत्तरीमा भएका मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

नवलपरासीको हकुईमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २२ बर्षीय ओम नारायण चौधरी रहेका छन् । शनिबार बेलुकी पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिँदा लु ४ प ९६८५ नम्बरको मोटरसाईकल चालक चौधरीको मृत्यु भएको हो ।
यसैगरी महोत्तरीको बर्दिवासमा पश्चिमबाट पूर्वतर्फ गैरहेको ज १ त ४९७७ नम्बरको ट्याक्टरले विपरित दिशामा रहेको बा ५१ प ८७५३ नम्बरको मोटरसाइकललाई शनिबार राती ठक्कर दिदा मोटरसाइकल चालक काठमाण्डु न्यूरोडका विशाल विष्टको मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडी सवार ललितपुर सानेपाका अजय भट्ट गम्भीर घाइते भएका छन् । भट्टलाई उपचारकालागि शनिबार राती नै काठमाण्डु ल्याइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us