
गुल्मी, २४ कात्तिक–एकीकृत नेकपा माओवादी निकट वाइसिएल नेपालको टोलीले गुल्मीको पुर्कोटदहमा नेकपा एमालेको चुनावी प्रचार टोलीलाई लखेटेको छ । वाइसिएल नेपाल १३ नम्बर इलाका भेलाको तयारी गरेको स्थलमा नेकपा एमालेले चुनावी कार्यक्रम गरेको भन्दै उनीहरुलाई लखेटिएको हो ।
पुर्कोटदहको बजारमा वाइसिएलको टोली नारा जुलुससहित पुगेपछि एमाले उम्मेदवार तथा केन्द्रीय सदस्य गोकर्ण विष्टसहितको टोली कार्यक्रम छोडेर हिँडेका थिए । आफूले कार्यक्रम तयारी गरेको स्थानमा एमालेले कार्यक्रम गरेपछि आफूहरु नाराजुलुससहित पुग्दा उनीहरु त्यहाँबाट हिँडेको दावी गर्दै आफूहरुले नलखेटेको वाइसिएल जिल्ला सदस्य जनक नेपालीले बताए ।
वाइसिएलको र्यालीमा एमाले कार्यकर्ताले आफ्नो झन्डामा ढुङ्गा बेरेर हानेपछि स्थिति तनावग्रस्त भएको वाइसिएल पुर्कोटदहका उपाध्यक्ष दिलीप घिमिरेको भनाइ छ । रासस