
काठमाण्डु, २३ कात्तिक– प्रहरी हवल्दार तथा जवानहरुले प्रहरी सेवामै रहेका श्रीमान–श्रीमतीलाई एउटै युनिटमा बस्न पाउने व्यवस्था मिलाउन प्रहरी महानिरीक्षक (आईजीपी) कुवेरसिंह रानासँग अनुरोध गरेका छन् ।
आईजीपी रानाले फोनमार्फत् समस्या तथा गुनासा सुनुवाई गर्ने क्रममा शनिबार प्रहरी हवल्दार तथा जवानहरुले सो अनुरोध गरेका हुन् । सो क्रममा विभिन्न कार्यालयहरु तथा दुर्गम स्थानमा कार्यरत उनीहरुले दुर्गम स्थानबाट सरुवा जान पाउन, समयमै बढुवा पाउन, आफ्नो दरवन्दीमा कार्यरत रहन, राशन सुविधा, आर्थिक सहयोग जस्ता विषयमा आईजीपीसमक्ष समस्या राखेका थिए ।
प्रहरी प्रधान कार्यालय, नक्सालस्थित आफ्नै कार्य कक्षबाट आईजीपी रानाले प्रहरी हवल्दार तथा प्रहरी जवानहरुसंग फोनवार्ता गरेका गरेका थिए । आईजीपी रानाले उनीहरुको समस्या सुनेपछि सम्बन्धीत क्षेत्रीय प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र युनिटका प्रहरी अधिकृतहरुलाई समस्या समाधानको लागि आवश्यक पहल गर्न निर्देशन दिएका छन् ।