
बुटवल, २३ कात्तिक– एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले लुम्बिनीलाई केन्द्रमा राखी रेलमार्ग निर्माणको योजना अगाडि बढिरहेको बताएका छन् ।
एमाओवादीको मेची–महाकाली राष्ट्रिय जागरण अभियान अन्तर्गत बुटवलमा भएको जनसभामा सम्बोधन गर्दै प्रचण्डले नेपालमा रेल मार्गको अत्यावश्यक भएको बताउँदै लुम्बिनीलाई चीनको ल्हासा र जनकपुरसम्म रेल मार्गले जोड्न सके ठूलो आर्थिक क्रान्ति हुने बताए ।
वृहत् लुम्बिनी विकास परियोजनाका अध्यक्ष समेत रहेका प्रचण्डले भने, ‘हेडौँडा महाधिवेशनपछि चीनको ल्हासादेखि काठमाडौं हुँदै लुम्बिनी जोड्ने रेल मार्गको दिर्घकालीन परियोजना सम्भव भएको निश्कर्ष निकाल्यौँ । यो कुरा मैले चीन भ्रमणमा क्रमदेखि गम्भीर ढंगबाट उठाउँदै आएको छु ।’ भारत जाँदा पनि पूर्वदेखि पश्चिमसम्म रेलमार्ग अनिवार्य रहेको उल्लेख गर्दै भारतले साँच्चिकै नेपालको विकास चाहन्छ भने पूर्वपश्चिम रेलमार्ग निर्माण गर्न सहयोग गर्नुपर्ने प्रसताव राखेको उनले बताए ।
पशुपतिनाथमा, जानकी नगरमा र लुम्बिनी रेल आयो भने नेपालमा ठूलो आर्थिक क्रान्ति हुने बताउँदै प्रचण्डले भने, ‘आर्थिक क्रान्तिका लागि यो हाम्रो दिर्घकालीन भिजन हो ।’ यसै भिजनलाई वास्तविकतामा उतार्नका लागि पनि पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई लुम्बिनी क्षेत्र रुपन्देहीबाट उम्मेदवार बनाएको उनको भनाइ थियो ।