
काठमाण्डु, २३ कात्तिक–लोकतन्त्र र शान्तिका लागि पेशागत सञ्जाल (पापड) ले ४ मंसिरको संविधानसभा निर्वाचन शान्तिपूर्ण बनाउने काममा लाग्न सबैको ध्यानाकर्षण गराएको छ ।
पापडका तर्फबाट शनिबार विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले एक अर्काप्रति लक्षित गरी बल प्रयोगको धम्की नदिन आग्रह गरेका छन् । निर्वाचनको पक्षमा रहेका दल तथा विरोधी शक्ति र सरकारले एकअर्काविरुद्ध गाली गलौज र एक अर्काविरुद्ध बलप्रयोगको चेतावनी दिन थालेको भन्दै पापडले त्यसो नगर्न भनेको छ ।
‘चुनावको मिति नजिकिंदै जाँदा बहिष्कारका नाममा नेकपा–माओवादीले आह्वान गरेको नेपाल बन्दको कार्यक्रम र त्यसलाई असफल बनाउन सरकारले सार्वजनिक रुपमा गरेको अपिलको अन्र्तनिहित भाव भनेको फेरि पनि सर्वसाधारणमाथि हिंसा हुने वातावरण बन्दै जानु हो भन्ने पापडको बुझाइ छ’, विज्ञप्तिमा भनिएको छ, ‘पापड चुनाव बहिष्कार गर्ने वा त्यसको प्रतिवाद गर्ने दुवै पक्षलाई हिंसा निम्त्याउने कुनै पनि काम कारबाही नगर्न अपिल गर्दछ ।’
विज्ञप्तिमा निर्वाचनमा भाग लिने र नलिने जनताको विवेकसम्मत निर्णयमा निर्भर रहने विषय भएकाले त्यसमा दबाब वा बल प्रयोग नगर्न नेकपा–माओवादीलाई आग्रह गरिएको छ ।
यस्तै पापडले शान्तिपूर्ण विरोध वा प्रर्दशनप्रति असहिष्णु नहुन सरकारको ध्यानाकर्षण गराएको छ । पापडले कुनै पनि हिंसात्मक कारबाहीको विपक्षमा उभिन आमजनतामा अपिलसमेत गरेको छ ।