
जाजरकोट, २३ कात्तिक– एकीकृत माओवादी जाजरकोट जिल्ला नेता लिले रानाको अपहरण भएको छ ।
माअोवादी जिल्ला सदस्य रानालाई करिब एक दर्जनको संख्यामा आएका नचिनेका मानिसहरुको समूहले शुक्रबार राति अपहरण गरेर अज्ञात स्थलतर्फ लगेको प्रहरीले जनाएको छ ।
एकीकृत माओवादी जिल्ला कार्यालयका सचिव लालबहादुर नेपालीले सुतिरहेका बेला अपहरणकारीले काम छ भनेर बाहिर बोलापछि नियन्त्रणमा लिएर लगेको बताए । माअोवादीले अपहरणमा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका कार्यकर्ता संलग्न रहेको आरोप लगाएको छ ।
नेपालीले आफ्नो समूहमा नलागेकामा वैद्य पक्षीय माओवादी कार्यकर्ताले रानालाई पटकपटक धम्क्याउने गरेका थिए । प्रहरीले रानाको खोजीकार्य तीव्र पारिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख नायव उपरीक्षक चक्रबहादुर सिंहले अपहरितको खोजीमा जिल्लाभर प्रहरी परिचालन गरिएको जानकारी दिए ।