उच्चस्तरीय समितिद्वारा आमहड्ताल फिर्ता लिन अपिल ‍(अपिलको पूर्ण पाठसहित)

काठमाण्डु टुडे २०७० कार्तिक २३ गते १२:२० मा प्रकाशित

high lavel commitee
काठमाण्डु, २३ कात्तिक– उच्चस्तरीय राजनीतिक समितिले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध ३३ दलीय मोर्चालाई संविधानसभा निर्वाचन लक्षित आमहड्ताल फिर्ता लिन अपिल गरेको छ ।
राजधानीमा शनिबार साँझ बसेको समिति बैठकले बन्द र हड्तालजस्ता पूर्वघोषित कार्यक्रम फिर्ता लिन सामूहिक अपिल गरेको हो ।

बैठकमा सहभागी एकीकृत माओवादी केन्द्रीय सदस्य प्रल्हाद बुढाथोकीले मतदानमा भाग लिन पाउने आमनागरिकको मौलिक हक हनन नगर्न आग्रह गरिएको जानकारी दिए । नेकपा–माओवादी सम्वद्ध ३३ दलीय मोर्चाले कात्तिक २५ देखि आह्वान गरेको १० दिने आमहड्ताल लगायतका कार्यक्रम रोक्न आग्रह गरिएको र उनीहरुका मागका बारेमा बसेर छलफल गर्न तयार रहेको उनले बताए ।

‘संविधानसभा निर्वाचन निष्पक्ष एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गाराउन तथा आमजनताका व्यवसाय, रोजगारी, शिक्षा, यातायता र स्वास्थ्यजस्ता अत्यावश्यक सेवामा खलल नपार्न, जनताको शान्तिपूर्वक बाँच्न पाउने अधिकारमा बन्द, हड्तालजस्ता गतिविधिद्वारा अवरोध नगर्न, संविधानसभाको निर्वाचनमा नेपाली जनताले मतदान गर्न पाउने सबैको नैसर्गिक अधिकारको हनन् नगर्न तथा राजनीतिक दलहरुको निर्वाचन तयारीमा गर्ने आमसभा र शान्तिपूर्वक गरिने प्रचार–प्रसार कार्यमा अवरोध नपुर्‍याउन उच्चस्तरीय राजनीतिक समिति आह्वान गर्दछ ।’ अपिलमा भनिएको छ ।

बैठकले निर्वाचनमा सहभागी राजनीतिक दल, आमजनसमुदाय, निर्वाचन आयोग र सरकार मंसिर ४ मा निर्वाचन सफल गराउने काममा लागेकामा सन्तोष प्रकट गरेको छ ।
आफूलाई बाहिर राखेर गर्न लागिएको निर्वाचनको औचित्य नरहेको भन्दै वैद्य मोर्चाले कात्तिक २५ देखि मंसिर ४ गतेसम्म देशव्यापी आमहड्ताल घोषणा गरेको छ ।
शीर्ष नेता चुनावी अभियानका क्रममा राजधानीबाहिर रहेका कारण बैठकमा समितिमा एकीकृत माओवादीका प्रल्हाद बुढाथोकी, काँग्रेसकी महालक्ष्मी उपाध्याय, एमालेका अग्नि खरेल र मधेसी मोर्चाका परमानन्द मेहता सहभागी थिए । विज्ञप्तिमा मेहताले हस्ताक्षर गरेका छन् । उनी समिति संयोजक विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य हुन् ।

उच्चस्तरीय राजनीतिक समितिका तर्फबाट जारी प्रेस विज्ञप्ति
संविधानसभाबाट संविधान जारी गर्ने नेपाली जनताको चाहना पूरा गर्न तथा जननिर्वाचित सरकारको निर्माण गर्न २०७० मंसिर ४ गते संविधानसभाको निर्वाचन सम्पन्न हँुदैछ ।
संविधानसभाको निर्वाचन मिति नजिकिंदै गरेको यस घडीमा आमनेपाली जनता व्यग्रताका साथ निर्वाचनको पखाईमा रहेका छन् । निर्वाचनमा सहभागी राजनीतिक दलहरु आमजनसमुदाय, निर्वाचन आयोग र नेपाल सरकार मंसिर ४ मा मतदानकार्य गर्न गराउन पूर्ण तयारी र उत्साहका साथ जुटिरहेको अवस्ूथाप्रति उच्चस्तरीय राजनीतिक समिति पूर्ण अस्वस्त भई सन्तोष प्रकट गर्दछ । यो निर्वाचनले सबै नेपालीको भावना समेटी संवैधानिक निकास दिने कुरामा समिति विश्वस्त पनि छ ।
नेकपा–माओवादी लगायतको ३३ दलीय मोर्चाले यही कात्तिक २५ गतेदेखि आह्वान गरेको १० दिने बन्द, आमहड्ताल लगायतका कार्यक्रमप्रति आज बसेको उच्चस्तरीय राजनीतिक समिति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ ।
संविधानसभाको निर्वाचनलाई निष्पक्ष एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गाराउन तथा आमजनताको व्यवसाय, रोजगारी, शिक्षा, यातायता र स्वास्थ्यजस्ता अत्यावश्यक सेवामा खलल नपार्न, जनताको शान्तिपूर्वक बाँच्न पाउने अधिकारमा बन्द, हड्तालजस्ता गतिविधिद्वारा अवरोध नगर्न, संविधानसभाको निर्वाचनमा नेपाली जनताले मतदान गर्न पाउने सबैको नैसर्गिक अधिकारको हनन् नगर्न तथा राजनीतिक दलहरुको निर्वाचन तयारीमा गर्ने आमसभा र शान्तिपूर्वक गरिने प्रचार–प्रसार कार्यमा अवरोध नपुर्‍याउन उच्चस्तरीय राजनीतिक समिति आह्वान गर्दछ । यसका लागि उल्लेखित बन्द, हड्तालका कार्यक्रम फिर्ता लिनसमेत समिति हार्दिक अपिल गर्दछ ।
निर्वाचनमा सहभागी दलहरुले पनि चुनावी प्रचार–प्रसारकार्य गर्दा आपसमा झडप हुने कार्य नगरी तथा कुनै अप्रिय घटना हुन नदिई शान्तिपूर्ण वातावरण कायम गर्दै मित्रवत र स्वच्छ चुनावी प्रतिस्पर्धा गर्न पनि यो समिति सबै राजनीतिक दलहरुलाई आह्वान गर्दछ । र त्यसको लागि प्रचितबद्धता पन व्यक्त गर्दछ । साथै आगामी संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नका लागि आमजनमुदाय, विभिन्न वर्ग, नागरिक समाज, पेशागत संघसंस्था, संञ्चारजगत सबैलाई पूर्ण रुपमा क्रियाशिल भई सहभागी हुनका लागि हार्दिक अनुरोध पनि गर्दछ ।
परमान्नद मेहता

उच्चस्तरीय राजनीतिक समितिका तर्फबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us