
रुकुम, २३ कात्तिक– जिल्लाको पूर्तिमकाँडा र गराएला गाविस जोड्ने भेरी नदीमाथिको तुइन काटिदिएपछि सर्वसाधारणको दैनिक आउजाउ असहज बनेको छ । पूर्तिमकाँडा–३ र गराएला–६ मेगा जोड्ने तुइनको डोरी नेपाली काँग्रेस निकट तरुण दलका कार्यकर्ताले काटिदिएको आरोप स्थानीय जनताले लगाएका छन् ।
भाइटीकाको दिन पूर्तिमकाँडा–३ गिठाकोटमा लाग्ने मेलामा वाइसिएलसँग झडप भएपछि गराएलातर्फ गएका उनीहरुले तुइनको डोरी काटेको पूर्तिमकाँडाका स्थानीय टेकबहादुर पुनले बताए । गराएलाबाट मेला हेर्न आएका तरुण दलका कार्यकर्ता र वाइसिएलका कार्यकर्ताबीच मेलामै कुटाकुट भएको थियो ।
तुइन काटिएपछि हाल दैनिक सयौं सर्वसाधारण मारमा परेका छन् । दैनिक ६० देखि १०० जनाले वारपार गर्ने तुइन मर्मत नभएसम्म हिँड्डुलको समस्या भइरहने स्थानीय कमला पुनले बताए । स्थानीयवासीले सोही तुइनबाटै घाँस, दाउरा, चामल, पीठो, पानी ओसारपसार गर्ने गर्दछन् । रासस