तरकारी भाउः उपभोक्तामा मार

काठमाण्डु टुडे २०७० कार्तिक २३ गते ११:२४ मा प्रकाशित

vegitableगाईघाट, २३ कात्तिक– केही दिनयता उदयपुरको सदरमुकाम गाईघाटलगायतका क्षेत्रमा हरियो तरकारी तथा सब्जीको भाउ वृद्धि हुँदै गएपछि यस क्षेत्रका उपभोक्ता मारमा परेका छन् ।

दसैँ तिहार तथा छठ पर्वको नाममा वृद्धि भएको हरियो तरकारी तथा सब्जीको भाउ अझ वृद्धि भएको उपभोक्ताको गुनासो छ । रु ६० देखि ७० रुपँैया पाइँदै गरेको काउली अहिले १०० रुपैँया पर्न थालेको छ भने ४० रुपँैया प्रतिकिलो पाइने आलु रु ६० मा पुगेको छ । रु १२५ मा प्रतिकिलो पाइने हरियो खुर्सानी अहिले आएर रु १५० प्रतिकिलो पुगेको छ भने रु ४० प्रतिकिलोमा पाइने बन्दा ६० रुपँैया पुग्न थालेको उपभोक्ता बताउँछन् ।

यस्तै १४० रुपँैया प्रतिकिलो पाइने अदुवा १६० रुपैँया पर्न थालेको छ भने अन्य सब्जीको भाउ पनि झनै वृद्धि भएको गाईघाटका स्थानीय उपभोक्ता खगेन्द्र खड्काले बताए । खड्का भन्नुहुन्छ, “अब त हिउँद लाग्यो, दसैँ तिहार पनि सकियो, सब्जीको भाउ घट्छ होला भनेको त उल्टो बढ्दै जान थालेको छ, अब सर्वसाधारणले सब्जी किनेर खान नसक्ने भए ।”

सब्जीको भाउमा वृद्धि हुन थालेका कारण गाईघाट बजारका होटल व्यावसायीसमेत खानाको मूल्य बढाउन बाध्य हुन लागेको गाईघाट मेलिना होटलका सञ्चालक गङ्गा राई बताउँछन् । सब्जी व्यापारीहरु भने आफूले अधिकांश सब्जी भारतबाट खरिद गर्नुपर्ने अवस्था रहेको कारण महँगो भएको बताउँछन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us