‘बुथ क्याप्चर’को सपना नदेख्न सरकारको चेतावनी

काठमाण्डु टुडे २०७० कार्तिक २३ गते १२:२० मा प्रकाशित

madhav-prasad-ghimire-ministerकाठमाण्डु, २३ कात्तिक– सरकारले संविधानसभा निर्वाचनका लागि मतदाता र उम्मेदवारको लागि आवश्यक सुरक्षा पूर्ण प्रवन्ध मिलाइएको बताएको छ । गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा गरेको बताएका हुन् ।

१० हजार १७ मतदान केन्द्रलाई केन्द्रित गरेर सरकारले निर्वाचन सुरक्षा योजना बनाएको मन्त्री घिमिरेले गृहमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएका हुन् । मतदानस्थलमा कुनै घटना भए १० देखि ३० मिनेटभित्र सुरक्षाकर्मी पुग्ने घिमिरेले दाबी गरे । उनले सरकारले काठमाण्डुमा विशेष सुरक्षा व्यवस्था अपनाएको पनि जानकारी दिएका छन् ।

‘सेना राजनीतिक दलविरुद्ध होइन’

‘शान्ति प्रक्रियाको राजनीतिक पाटो पूरा गर्न निर्वाचन आवश्यक छ, सरकारले यसमा प्रतिवद्ध भएर सुरक्षाको पूर्ण तयारी गरिसकेको छ’, पत्रकार सम्मेलन मन्त्री घिमिरेले भने।

सेना कसको मातहतमा रहने भन्ने विषयमा कुनै विवाद नभएको स्पष्ट पार्दै घिमिरेले भने, ‘सेना जिल्ला सुरक्षा समिति अन्तरगत रहेर परिचालन हुने छ । एकीकृत सुरक्षा योजना अन्तरगत सेना परिचालन गरिएको हो । सेना कुनै राजनीतिक दलविरुद्ध प्रयोग गरिएको होइन । मतदातालाई मतदान केन्द्रसम्म पुर्‍याउन सेना परिचालन गरिएको हो ।’

मतपेटिका प्राणभन्दा प्यारो

गृहमन्त्री घिमिरेले मत खसालिएको मतपेटीका प्राणभन्दा प्यारो उल्लेख गरेका छन् ।

घिमिरेले त्यहीअनुसारको तयारी गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइएको दाबी गर्दै कुनै पनि राजनीतिक दललाई बुथ क्याप्चरको सपना नदेख्न पनि चेतावनी समेत दिएका छन् । मतपेटीका ढुवानीका लागि सरकारले छुट्टै व्यवस्था गरेको उनले जानकारी दिए ।

बन्द गर्नेलाई नछाड्ने

नेकपा–माओवादीले आह्वान गरेको बन्दप्रति लक्षित गर्दै मन्त्री घिमिरेले सडकमा बन्द गर्न उत्रिनेलाई सरकारले कानुनअनुसार कारबाही गर्ने बताए ।

यसअघिका बन्द व्यवस्थापन गर्ने काम सरकारले गरे पनि अब बन्द गर्न सरकारले नदिने उनको भनाइ थियो । मन्त्री घिमिरेले निर्वाचनको विरोध गर्ने दलले कुनै भरपर्दो विकल्प दिन नसकेको जिकिर गर्दै निर्वाचनलाई लक्षित गर्दै बन्दको आहवान गर्नु १ करोड २२ लाख मतदाता विरुद्धमा रहेको उनले बताए ।

सरकारले बन्दका क्रममा भएको क्षर्तिपूर्तिका लागि ९० प्रतिशत क्षर्तिपूर्ति दिने जानकारी दिँदै स्थानीय तहमाबाट २५ हजार र घाइतेको निशुल्क उपचार गर्ने व्यवस्था सरकारले गर्ने घिमिरेले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us