कतै अवरोध रोक्ने सर्वपक्षीय निर्णय, कतै आम हडताल तोड्ने चेतावनी

काठमाण्डु टुडे २०७० कार्तिक २३ गते १०:१४ मा प्रकाशित

बागलुङ, २३ कात्तिक– आसन्न निर्वाचनको वातावरण खल्बलिने गरी हुन सक्ने कुनै पनि क्रियाकलाप रोेक्ने सर्वपक्षीय सहमति भएको छ । जिल्ला प्रशासन कार्यालयको पहलमा शनिबार भएको सर्वपक्षीय भेलाले निर्वाचनका लागि भयरहित वातावरण निर्माण गर्न स्थानीय प्रशासनलाई सहयोग गर्ने निर्णय गरेको हो ।

जिल्लाका सबै सरोकारवाला सहभागी भेलाले प्रशासनले अपनाउने सबै सुरक्षा प्रबन्धमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ । जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका प्रमुख, राजनीतिक दल, उद्योगी, व्यवसायी, नागरिक समाज, कानुनकर्मी, पत्रकारलगायतले शान्तिपूर्ण रुपमा निर्वाचनलाई सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

निर्वाचन बहिष्कारको पक्षमा रहेको नेकपा–माओवादी नेतृत्वको बन्द हडतालजस्ता क्रियाकलापको राजनीतिक रुपमै समाधान निकाल्ने गरी वातावरण सहज पारिने प्रशासनले जनाएको छ । निर्वाचनको विपक्षमा रहेका दलहरुसँग पनि नियमित छलफल भइरहेकाले सहज वातावरण निर्वाचनको कार्यक्रम अघि बढ्ने प्रमुख जिल्ला अधिकारी कैलाशनाथ खरेलले बताए ।

suraj_vaidyaआम हडताल तोडिने चेतावनी

बनेपा– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरज वैद्यले नेकपा–माओवादीले आह्वान गरेको १० दिने आम हडताल फिर्ता नभए तोड्ने चेतावनी दिएका छन् ।

शनिबार बनेपामा उद्योग वाणिज्य सङ्घ काभ्रेले आयोजना गरेको २३ औँ वार्षिक साधारणसभा तथा अधिवेशनमा उनले हामी बन्दको विपक्षमा छाँै तर बन्द भए निजी क्षेत्रले त्यसलाई तोड्छ भने । उनले बन्दको विपक्षमा माओवादी अध्यक्ष वैद्यसँग कुरा गरेको समेत जानकारी दिए ।

वैद्य नेतृत्वको नेकपा–माओवादीले संविधानसभाको निर्वाचनलाई लक्षित गरेर आगामी २५ गतेदेखि आम हडतालको घोषणा गरेको छ । अध्यक्ष वैद्यले दलहरुको घोषणापत्रमा निजी क्षेत्रको भावनाको कदर भएकामा खुसी व्यक्त गर्दै निजी क्षेत्रले न्यूनतम आर्थिक एजेन्डामा पाँचै क्षेत्रको विकासलाई समेट्ने कोसिस गरेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us