ताप्लेजुङको एमाले सभामा बम विष्फोट

काठमाण्डु टुडे २०७० कार्तिक २३ गते १०:३४ मा प्रकाशित

taplejung_district_mapताप्लेजुङ, २३ कात्तिक– ताप्लेजुङको खोक्लिङ गाविसमा नेकपा एमालेको चुनावीमा अज्ञात समूहले बम विष्फोट गराएको छ ।

विष्फोटका कारण घाइते भएका सात जनामध्ये दुईको अवस्था गम्भीर भएको ताप्लेजुङ प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेमा मानबहादुर बिक र अर्को एक नाम नखुलेका व्यक्ति छन् । घाइते हुनेहरुमा एक आठ वर्षीय बालक र एक ७० वर्षीय वृद्धा समेत रहेका छन् ।

घाइतेहरुमा पदम कुँवर (वर्ष ८), तुलसा थापा (७०), रेनुका अधिकारी (३५), निर्मला अधिकारी (३५), यज्ञ बिक (३६) रहेका छन् । घाइतेहरुलाई लिन ताप्लेजुङ सदरमुकामबाट एम्बुलेन्स त्यसतर्फ गइसकेको छ । घटनास्थल सदरमुकामबाट करिब १२ किलोमिटर टाढा पर्छ ।

ताप्लेजुङ–२ को चुनावी प्रचार–प्रसारका क्रममा आयोजित सो सभामा एमाले उम्मेदवार डम्मरध्वज तुम्बाहाम्फेले सम्बोधन गर्दै थिए । सो सभामा बम विष्फोट गराएर अज्ञात समूह फरार भएको प्रहरीले जनाएको छ । प्रहरीले अज्ञात समूहले विष्फोट गराएपनि एमाले निकट शिक्षक संगठनका मदनकुमार दाहालले नेकपा–माओवादीका कार्यकर्ताले विष्फोट गराएको दावी गरेका छन् ।

चुनावी सभामा एक्कासी विष्फोट भएपछि नेता–कार्यकर्ता तथा मतदाताहरुको भागाभाग भएको थियो । विष्फोटबाट स्थानीयहरु थप त्रासमा रहेको शिक्षक दाहालले जनाए । अहिले एमाले जनसभा सुरु भएको छ । सो क्षेत्रमा एमाओवादीका टंक आङ्बुहाङ र काँग्रेसका प्रतापप्रकाश हाँगाम चुनावी मैदानमा छन् ।

यसअघि ताप्लेजुङ–१ मा एमाओवादीका उम्मेदवार सञ्चपाल मादेनलाई नेकपा–माओवादीका कार्यकर्ताले मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । सो घटनाको नेकपा–माओवादीले आधिकारिक जिम्मेवारी समेत लिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us