
चितवन, २३ कात्तिक– एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले काँकडभिट्टाबाट सुरु भएको एमाओवादीको मेची–महाकाली राष्ट्रिय जागरण अभियानको हावा चितवनसम्म आँउदा हुरीमा परिणत भइसकेको बताएका छन् ।
चितवनको भरतपुरमा सो अभियान अन्तरगतको जनसभामा सम्बोधन गर्दै डा. भट्टराईले एमाओवादीले हुरीको रुप लिएको बताउँदै भने, ‘यो हुरीले यो देशका प्रतिक्रियावादीहरुलाई बढारेर फाल्नेछ ।’ मंसिर ४ को चुनाव अग्रगमनकारी र यथास्थितिवादी प्रतिगामी बीचको महाभारत भएको बताउँदै उनले सत्य र असत्यकाबीचको यो युद्धमा एमाओवादी सत्य सावित हुने बतए ।
डा. भट्टराईले आफू अर्थमन्त्री भएको बेला नेपालको इतिहासमा सबैभन्दा बढी ३५ अर्बभन्दा बढी राजस्व संकलन गरेको सम्झदै देशलाई आत्मनिर्भर बनाउने अभियानको थालनी त्यहीबेलादेखि गरिसकेको दाबी गरे । ‘अरु कुनै पनि पार्टीले छोटो समयमा यति उपलब्धि गरेका थिएनन्, तर हामीले छोटो समयमा नै देशलाई आत्मनिर्भरको बाटोमा लग्यौं’, उनले भने ।
मौका पाएमा एमाओवादीले गरेर देखाइदिने बताउँदै उनले आगामी चुनावमा एमाओवादीलाई बहुमत दिन आग्रह गर्दै ‘देश विकासको क्षेत्रमा धेरै गरेर देखाउन सक्ने’ बताए ।
त्यस्तै शनिबारै पूर्वप्रधानमन्त्री एवम् एमाओवादीका नेता डा. भट्टराईले आफ्नो नेतृत्वको सरकारले दुखी र गरिब जनताको पक्षमा काम गरेको उल्लेख गर्दै एकीकृत माओवादीले दुई तिहाई मत पाए १५ वर्षभित्र नेपाललाई गरिबीमुक्त बनाउने दाबी गरे ।
एकीकृत माओवादीका अर्का वरिष्ठ नेता एवम् मकवानपुर क्षेत्र नं २ का उम्मेदवार नारायणकाजी श्रेष्ठले यो अन्तिम संविधानसभा निर्वाचन भएकाले एकीकृत माओवादीलाई स्पष्ट रुपमा दुई तिहाई मत दिन आग्रह गरे । एकीकृत माओवादीले दुई तिहाई नल्याए संविधान बन्न नसक्ने श्रेष्ठको तर्क थियो ।