एमाओवादी उत्कर्षमा, यसपाली बाजी मार्छौं: प्रचण्ड

काठमाण्डु टुडे २०७० कार्तिक २३ गते ९:१० मा प्रकाशित

Prachanda in Birtamode.jpg 2हेटौँडा, २३ कात्तिक– एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले आसन्न संविधानसभा निर्वाचनमा एमाओवादीले बाजी मार्ने ठोकुवा गरेका छन् ।

एमाओवादीको पक्षमा देशभर जनलहर उर्लेकोले चुनावमा आफ्नो पार्टीले अप्रत्यासित मत ल्याउने अध्यक्ष प्रचण्डले ठोकुवा गरेका हुन् । मेची–महाकाली जागरण अभियानअन्तर्गत शनिबार मकवानपुरको हेटौँडामा जनसभालाई सम्बोधन गर्दै उनले भने, ‘देशभर एकीकृत नेकपा माओवादीको पक्षमा जनलर उर्लेको छ, मंसिर ४ मा हुने संविधानसभाको निर्वाचनमा एमाओवादी ने अगाडि हुन्छ, हाम्रो पार्टीले फेरि पनि बाजी मार्छ ।’

मकवानपुर जिल्ला राजधानी र व्यापारिक नाका वीरगन्जसँग जोडिएको प्रसङ्ग जोड्दै उनले मकवानपुरलाई आर्थिक क्रान्तिको नमुना बनाउन एकीकृत माओवादीले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

चितवनमा प्रचण्ड

त्यस्तै सो अभियान अन्तरगत शनिबारै चितवनको भरतपुरमा भएको जनसभामा प्रचण्डले एमाओवादी उत्कर्षमा पुगेको बताए । उनले भने, ‘हामी जतिजति पश्चिम जाँदैछौं उतिउति उत्कर्षमा पुग्दैछौं । एमाओवादीको पक्षमा उर्लेको जनमत जनसागर बन्दैछ ।’

दोश्रो संविधानसभा चुनावको लागि एकीकृत माओवादीले निकै ठूलो त्याग गरेका उल्लेख गर्दै प्रचण्डले भने, ‘छँदाखादाको सरकार हामीले नै त्यागेका हौं, हामीले नेपाली जनताको अधिकार सुनिश्चित गर्न त्यागको अभ्यास गर्दै आएका छौं र गरिरहेका छौं ।’

दुई संगठनका अध्यक्ष एमाओवादीमा प्रवेश

त्यस्तै चितवन जनसभामा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता एमाओवादीमा प्रवेश गरेका छन् ।

पिछडा वर्ग महासंघ चितवनका अध्यक्ष वीरेन्द्रप्रसाद गुप्ता र शिव सेना नेपाल पार्टी निकट यूवा संगठनका जिल्ला अध्यक्ष हरिशरण तिमिल्सिना एमाओवादीमा प्रवेश गरेका हुन् । उनीहरुलाई एमाओवादी अध्यक्ष प्रचण्डले टिका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us