दोलखाका थामी भन्छन–बिकास हाम्रो प्राथमिकता

काठमाण्डु टुडे २०७० कार्तिक २३ गते ६:२८ मा प्रकाशित

दोलखा, २३ कात्तिक–पूर्वी पहाडी जिल्ला दोलखाका अधिकांश मतदाता जातीय आधारमा मत दिने पक्षमा रहेका छैनन् । थामी जातिको उद्गमस्थल भनेर चिनिने सुस्पा क्षमावती गाविसको राङ्राङथलीका उद्धव थामीले भने,‘हाम्रो गाउँको सडक जसले कालोपत्रे गर्न सहयोग गर्छ उसैलाई मत दिने छौँ ।’
‘जातीय कुरा उठाई सहर तथा सदरमुकाममा हाम्रो नाम बेचेर कसले केको खेती गरेको छ उसैले जानोस् तर यहाँका थामी समुदायको मत भने सहयोग गर्नेको पक्षमा जाने छ’थामीले भने । राङ्राङथलीमा थामी समुदायको करिब ५०० मत रहेको उनले बताए ।
धारामा पानी थाप्दै गरेकी ५६ वर्षीया आइती थामीले भनिन ‘नेताका गाउँगाउँमा सडक पुगेर पनि पिच भइसहेका छन् तर पछाडि पारिएका हामी थामी जातिका मानिसलाई निर्वाचनका लागि हतियार मात्र बनाउने र हामीले सधँै दःुखकष्ट झेलिरहनुपर्ने अवस्था युगौँदेखि रहिआएको छ । यसपटक जुन पार्टीले हाम्रो गाउँसम्म आउने सडकको पिच गरिदिन्छ हामी सबैको मत उसैलाई दिने सल्लाह गरेका छाँै।’
पहिलो पटक चुनावमा भोट हाल्न पाउने भएकोमा आपूmलाई खुसी लागेको बताउने २२ वर्षीया चमेली थामीले भनिन‘सरकारी उपेक्षाको सिकार बनिरहेको थामी वस्तीको विकास जसले गर्छ उसलाई भोट दिने र जातीय नारा उठाई भोट माग्न आउनेलाई परैबाट तिरस्कार गर्ने हाम्रो समुदायको एक मत रहेको छ ।’
आपूmलाई सङ्घीयता के हो ? जातीय राज्य के हो ? थाहा नभएको बताउने राङ्राङथलीका समुदायले जसले गाउँको सडकमा पिच गरिदिन्छ त्यसलाई भोट दिने भनिरहेका छन् । दोलखाको क्षेत्र नं २ मा थामी समुदायमा करिब १० हजार मतदाता रहेका छन् । करिब ५५ हजार मतदाता रहेको यस क्षेत्रमा थामी समुदायको मत निर्णयक हुने गरेको छ ।
दोलखाका प्रमुख राजनीतिक दल नेपाली काँगे्रस, एमाले र एकीकृत माओवादीले यस समुदायबाट कहिल्यै पनि प्रत्यक्षको उम्मेदवार बनाएका छैनन् । एकीकृत माओवादीले अघिल्लो संविधानसभाको निर्वाचनमा लापिलाङका चुनबहादुर थामीलाई समानुपातिकतर्फबाट सभासद् बनाएको थियो । यस पटक नेकपा एमालेले दोलखा  जिल्लाबाट ६ जनालाई समानुपातिकमा सिफारिस गरेकोमा आलम्पुका ठुला थामीको नाम पनि सिफारिसमा परेको छ । नेपाली काँगे्रसले अहिलेसम्म थामी जातिका नागरिकलाई समानुपातिकतर्फसमेत उम्मेदवार बनाएको छैन । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us